• १२ जेठ २०८२, सोमबार

कोशी सीप उत्सवमा तीन जना युवा स्कील्स् आइकन घोषित

blog

काठमाडौँ, जेठ १२ गते । युवालाई श्रमको सम्मान भाव जगाउने उद्देश्यले विराटनगरमा आयोजना गरिएको सीप उत्सव २०८२ बाट उत्कृष्ट तीन जना स्कील्स् आइकन्स घोषित हुनुभएको छ । उत्कृष्ट हुनेमा अटोमोबाइल तर्फ मनमोहन स्मृति पोलिटेक्निकका प्रशिक्षार्थी चन्द्रदेव यादव, होटेल म्यानेजमेन्ट तर्फ नरबहादुर कर्माचार्य बहु प्राविधिक शिक्षालयका विवश कोइराला र सूचना प्रविधि (आइटी) तर्फ पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानकी सोनाम नेम्वाङ रहनु भएको छ । 

औद्योगिक प्रशिक्षार्थी स्किल्स् आइकनका लागि होटेल म्यानेजमेन्ट, अटोमोबाइल तथा सूचना प्रविधि (आइटी) क्षेत्रका युवाबिच प्रतिस्पर्धा गराइएको थियो । यसमा कोशी प्रदेशमा प्राविधिक व्यावसायिक शिक्षा र तालिम दिने सात वटा संस्थाबाट छनौट भएका १६ जना प्रतिस्पर्धीमध्येबाट तीन जना प्रशिक्षार्थी उत्कृष्ट भएका हुन् । 

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयसितको समन्वयमा उद्योग सङ्गठन मोरङ तथा इन्स्योर परियोजनाले संयुक्त रूपमा आयोजना गरेको सीप उत्सवमा श्रम तथा रोजगारीबारे वृत्ति, परामर्श र विभिन्न पेसाकर्मीका सफलताका कथा, लगायत लाइभ टेनिङ गराइएको उद्योग सङ्गठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले बताउनुभयो । कार्यक्रमले युवाहरूमा सीप सिक्नका लागि प्रेरणा जगाएको इन्स्योर परियोजनाका घनश्याम लिम्बुले बताउनुभयो । यस कार्यक्रमलाई आगामी बर्सहरूमा अझै परिष्कृत गर्दै, प्रभावकारी बनाउँदै लैजाने योजना छ ।