• १२ जेठ २०८२, सोमबार

भिजिट भिसा प्रकरण : आयोगले विस्तृत अनुसन्धान गर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १२ गते । भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हुने गरेको मानव तस्करीका घटना र आर्थिक लेनदेनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ ।  

सो प्रकरणमा अख्तियारले विशेष सुराकका आधारमा विमानस्थल अध्यागमनमा छापा मारी प्रमुख तीर्थराज भट्टराईसहित केही कर्मचारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।

अख्तियारले विमानस्थल अध्यागमनबाट बरामद भएका कागजपत्र, विद्युतीय उपकरणको परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । सोही प्रकरणमा जोडिएका अध्यागमन प्रमुख भट्टराईसहितका कर्मचारीमाथि सोधपुछ सुरु भए पनि बयान भने सुरु हुन सकेको छैन । 

नियन्त्रणमा लिइएका आरोपितबाट बरामद गरेका प्रमाणको फरेन्सिक परीक्षण आउन अझै कम्तीमा एक हप्ता लाग्ने भएकाले आरोपितले उच्च पदस्थ अधिकारीलाई पोलेको आरोपमा सत्यता नरहेको अख्तियार स्रोतको दाबी छ ।

यद्यपी यस घटनामा गृह मन्त्रालयको नेतृत्व वा सोभन्दा माथिको संलग्नता नै पुष्टि हुने आधार देखिएमा थप विस्तृत अनुसन्धान गरी जोसुकैलाई कानुनी दायरामा ल्याउने गरी अख्तिारले अनुसन्धानको दायरा थप फराकिलो पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अनियमितताको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीको राजीनामा मागिनु उचित नभएको बताउनुभयो ।

त्यसै गरी पूर्वगृहमन्त्री कृष्णप्रसाद सिट्टौला, पूर्वमुख्य सचिव विमल कोइरालालगायतका विज्ञले कर्मचारीमाथि छानबिन भइरहेका बेला गृहमन्त्रीको राजीनामा माग्ने र गृह सचिवको संलग्नता भनी भइरहेका प्रचारबाजी गलत रहेको धारणा व्यक्त गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाले यसबारे अनुसन्धान भइरहेकाले थप विषय बोल्न नमिल्ने बताउनुभयो ।

सामाजिक सञ्चालमा आइरहेको जस्तो नियन्त्रणमा लिएका अध्यागमनका कर्मचारीसँग बयान लिने र उनीहरूले बोलेको भन्दै आइरहेका विवरणमा भने कुनै सत्यता नरहेको उच्च स्रोतको दाबी छ । भट्टराईसँग अख्तियारले बयान लिएको र उहाँले गृह मन्त्रालयकै नेतृत्वलाई जोडेर आरोप लगाएको भनी भइरहेका प्रचारबाजीमा कुनै सत्यता नरहेको अख्तियार स्रोतको दाबी छ ।

बरामद भएका प्रमाणको वैज्ञानिक परीक्षणबाट ठोस आधार फेला परेमा आरोपितलाई नियन्त्रणमा लिई वा आयोगमा बोलाएर मात्र बयान सुरु गरिन्छ तर पछिल्लो घटनामा बरामद प्रमाणको पुनः परीक्षण र प्रमाणको सङ्कलनका काम नै पूरा नभई बयान सुरु भन्नु नै गलत रहेको स्रोतको दाबी छ ।