• १२ जेठ २०८२, सोमबार

आठ करोड २१ लाख राजस्व सङ्कलन

blog

पर्सा, जेठ १२ गते । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा  रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिनुभयो । “कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । 

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।  त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा रु २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने रु ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्र्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । त्यस्तै आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन गरेको छ ।