प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), जेठ ११ गते । रौतहटको माधवनारायण नगरपालिका–८ मा वडा कार्यालयको भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । वडाध्यक्ष योगेन्द्रप्रसाद महतोले नयाँ भवन बनेपछि सोही भवनबाट वडाको प्रशासनिक कार्य सञ्चालन भएको बताउनुभयो । आफ्नै भवनबाट वडा कार्यालय सञ्चालनमा आएपछि छिटोछरितो सेवा प्रवाह हुन लागेको स्थानीय पार्वती कुमारीले बताउनुभयो ।
वडाबाट प्रदान हुने सेवा पारदर्शी, छिटोछरितो तथा सेवा प्रभावकारी बनाउन आफ्नो वडा भवन नरहेको हरेक वडामा नगरपालिकाले वडा भवन निर्माणमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले बताउनुभयो । करिब ६१ लाख रुपियाँको लागतमा निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनुभयो ।
आफ्नो भवन नहुँदा भाडाको कोठाबाट वडा कार्यालय सञ्चालन भइरहेको थियो । साँघुरो र सीमित कोठाबाट सेवा प्रवाह गर्नुपर्दा कर्मचारी र सेवाग्राहीले समस्या झेल्नु परेको अवस्थाको अन्त्य भएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनुभयो । प्रभावकारी सेवा प्रवाहका लागि भवन अपरिहार्य रहेको ठहर गरेर नगरपालिकाले आफ्नै बजेटमा वडा भवन निर्माण गरेको नगरप्रमुख बैजनाथप्रसाद यादवले बताउनुभयो । नगरप्रमुख यादवले वडा कार्यालयलाई प्रविधिमैत्री बनाउँदै स्थानीयलाई सहज रूपमा सेवा प्रदान गर्ने बताउनुभयो । वडा भवन निर्माणका लागि स्थानीय रामचन्द्र महतो कोइरीले १६ धुर जग्गा दान दिनुभएको थियो ।