• ११ जेठ २०८२, आइतबार

सडक निर्माणमा ढिलासुस्ती, सहयोग गुम्ने खतरा

blog

त्रियुगा नगरपालिका–११ को गाईघाट बजार क्षेत्रमा निर्माण कार्य हुँदै  । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, जेठ ११ गते । विश्व बैङ्कको सहयोगमा सञ्चालित गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न १३ वटा सडक निर्माणको काममा ढिलासुस्ती भएको छ । पछिल्लो तीन महिनायता सडक निर्माणको काम ढिलो हुँदा आफूहरूले दैनिक धुलो र धुवाँको सास्ती खेप्नु परेको भन्दै स्थानीय आक्रोशित भएका छन् । 

पूर्वनिर्धारित समयसीमा समाप्त हुन ४५ दिन मात्र बाँकी छ । सडक निर्माणको काम भने ५० प्रतिशतभन्दा बढी नै थाती रहेको छ । तोकिएको समयभित्र निर्माणसम्बन्धी सम्पूर्ण काम सम्पन्न नभए विश्व बैङ्कको सहयोग कटौती हुने भएपछि निर्माण कम्पनीका ठेकेदारप्रति स्थानीय आक्रोशित भएका हुन् ।

त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेतले उच्च गुणस्तरको कालोपत्रे सडक निर्माण आउँदो असार मसान्तसम्म सम्पन्न हुन नसके यो योजना नै अलपत्र हुन सक्ने बताउनुभयो । उहाँले अब २४ सै घण्टा काम गर्न निर्माण कम्पनी आशिष/आशीर्वाद/स्वामीनारायण जेभीका प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ ।

गाईघाट बजारलगायत वडा नं. १०, ११, १२ र १३ भित्रमा करिब १५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न त्रियुगा नगरपालिकाले अगाडि सारेको योजनालाई एक अर्ब लगानी गर्ने गरी विश्व बैङ्कले अघिल्लो वर्ष नै स्वीकृत गरेको भए पनि घटाघट प्रणालीमा ठेक्का लगाउँदा ६७ करोडमा सम्झौता भए पनि गुणस्तरमा कमी आउन नदिन आफूले निर्माण भइरहेको क्षेत्रमा कडाइका साथ निगरानी गरिरहेको नगरप्रमुख बस्नेतले बताउनुभयो ।

गाईघाट बजारको पिपल चोक बरुवा सडक, करमगाछी आदर्श टोल सडक, सिटी हल पश्चिमको सडक, बाबारानी डिएम गेट सडक, फूलचोक बोटे टोल सडक, प्रगति टोल साकेला सडक र सगरमाथा कृषिबजार क्षेत्रको सडकसमेत गरी करिब १५ किलोमिटर सडक निर्माण हुन लागेको हो । सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ –युजिआइआइपी) अन्तर्गत विश्व बैङ्कले यस नगरपालिकालाई उक्त रकम सहयोग गरेको नगरप्रमुख  बस्नेतले बताउनुभयो । 

सडक निर्माणका लागि चाहिने आवश्यक रकमको जोहो हुन नसक्दा लामो समयदेखि जीर्ण अवस्थामा गुज्रिरहेका यी सडकमा दुवैतर्फ गरी करिब २९ किलोमिटर नालीसहितको अस्पताल प्रविधिको उच्च गुणस्तरको कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो । यसबाट स्थानीय बासिन्दामा उत्साह छाउनुका साथै निर्वाचनका समयमा आफूहरूले जनतासामु गरेको वाचा पनि पूरा हुनेमा आफू विश्वस्त रहेको नगरप्रमुख बस्नेतले बताउनुभयो । 

त्रियुगा नगरपालिकाले तयार पारेको डिपिआर नेपाल सरकार सहरी विकास मन्त्रालयमार्फत विश्व बैङ्कमा पेस गरिएको र सोही अनुसार उक्त डिपिआर स्वीकृत भई सडक निर्माणका लागि टेन्डर आह्वान गरिए अनुरूप निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको भए पनि जुन गतिमा काम अगाडि बढाउनुपर्ने हो सो अझै हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताउनुभयो । 

त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष सुमन्त कोइरालाले विश्व बैङ्कको सहयोगमा १८ मिटर चौडाइको दायाँबायाँ नालासहित सडक निर्माणको काममा व्यापक ढिलाइ भइरहेकाले अबको डेढ महिनाभित्रमा गाईघाट बजार मात्र नभएर पुरानो गाईघाट, करमगाछी, ढिम्की मन्दिर क्षेत्र, सङ्गमटोल, पुरानो हवाई फिल्ड तथा तरकारी बजारलगायत समग्रमा गाईघाट बजारको स्वरूप परिवर्तन हुनुपर्नेमा निर्माण कम्पनीकै कारण योजना अप्ठ्यारोमा पर्न लागेको बताउनुभयो । 

त्रियुगा नगरपालिकाका प्रवक्ता तिलक कटुवालले २०८० चैत ३० गतेबाट हालसम्म ७० प्रतिशत निर्माणको काम सकिएको बताउनुभयो । उहाँले यो पाँचबर्से प्रोजेक्ट भए पनि डिपिआर तयार गरी त्यसको ड्रोइङ निर्माण, सूचना प्रकाशन, टेन्डर स्वीकृति प्रक्रिया, आशय पत्र र सम्झौता आादि प्रशासनिक काममा साढे तीन वर्षको समय लागेको र सम्झौता गर्दा १५ महिनाको अवधि बाँकी रहेको जानकारी दिनुभयो । 

सात प्रदेशका ५६ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारको निर्णयबमोजिम उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब रुपियाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भए अनुसार यी सडकको निर्माण गर्न थालिएको हो ।

त्रियुगा नगरपालिकाका इन्जिनिएर निर्मल चौधरीले हालसम्म निर्माण कम्पनीलाई ३२ करोड ७३ लाख ४९ हजार रुपियाँ भुक्तानी दिइसकिएको जानकारी दिनुभयो । उहाँले अब २४ सै घण्टा सडक निर्माणको काममा लाग्न अनुरोध गरिएको तथा आगामी असार मसान्तसम्ममा कालोपत्रे सडक निर्माणको सम्पूर्ण काम पूर्वनिर्धारित समयसीमा भित्रै सम्पन्न गरिने बताउनुभयो ।