• ११ जेठ २०८२, आइतबार

पहिरो अनुसन्धान गर्न विज्ञ टोली लिमीमा

blog

तिलगाउँका पहिरोपीडितलाई राहत प्रदान गरिँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, जेठ ११ गते । तिलगाउँमा गएको पहिरोको अनुसन्धान गर्न तीनसदस्यीय विज्ञ टोली लिमीगाउँमा पुगेको छ । हालसम्म हिमताल फुटेर पहिरो गएको आशङ्का गरिएकोमा त्यसको सत्यतथ्य पत्ता लगाउन सो टोली स्थलमार्गबाट सिमकोट हुँदै तिलगाउँ पुगेको हो ।

काठमाडौँबाट आएको तीनसदस्यीय विज्ञ टोली लिमीको तीलगाउँमा पुगेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । सदरमुकाम सिमकोटबाट दुई दिन लगाएर तीनसदस्यीय टोली लिमी पुगेको हो । टोलीमा राष्ट्रिय विपत् जोखिम तथा व्यवस्थापन प्राधिकरणका सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिडिई शिवप्रसाद बास्कोटा र हाइड्रोलोजिस्ट इन्जिनियर सौहार्द जोशी रहनुभएको छ । उहाँले टोली तिलगाउँ पुगेको र अब पाँच हजार तीन सय मिटर उचाइको काँजी हिमालमा पुग्ने बताउनुभयो । 

टोली पुगेपछि पहिरो कसरी गएको हो भन्ने यकिन जानकारी हुने उहाँको भनाइ छ । टोलीसँग वडाध्यक्ष तामाङले दुई जना स्थानीय व्यक्ति पनि जाने बताउनुभयो । टोली बिहीबार सदरमुकाम सिमकोट पुगेर लिमीतर्फ लागेको हो । गत जेठ १ गते राति 

पहिरो गएको थियो ।   पहिरोपीडितलाई गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले तिलगाउँ पुगेर राहत सामग्री वितरण गर्नुभएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । राहत सामग्रीमा दैनिक उपभोग्य सामग्री रहेको र सो सामान तिलगाउँका १९ घरधुरी पहिरोपीडितलाई वितरण गरिएको जानकारी उहाँले दिनुभयो । 

यस्तै उद्योग वाणिज्य सङ्घको सहयोगमा २५ केजीका १८ बोरा चामल पनि पहिरोपीडितलाई वितरण गरिएको छ । पहिरोबाट खानेपानीको पाइप लाइनलाई क्षति पु¥याएपछि खोलाको लेदो पानी पिउन बाध्य तिलवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि पाइप र सिमेन्ट उपलब्ध गराइएको छ । एक हजार आठ सय मिटर लामो पाइप खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयबाट उपलब्ध गराइएको हो भने सिमेन्ट गाउँपालिकाबाट सहयोग गरिएको हो । तत्कालका लागि स्थानीयवासी मिलेर खानेपानीको व्यवस्था गरिने वडाध्यक्ष तामाङले बताउनुभयो । 

यसै गरी नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखा र आधार विकास नेपालले तिलगाउँका पहिरोपीडितलाई राहत सामग्री सहयोग प्रदान गरेका छन् । यी दुई निकाय मिलेर पाल, सोलार, औषधी, खाद्यान्न, भाँडाकुँडालगायतका सामान राहतस्वरूप सहयोग गरेको रेडक्रस हुम्लाका अध्यक्ष गणेश महतले बताउनुभयो । सहयोगी निकायका प्रतिनिधि तिलगाउँमै पुगेर राहत प्रदान गरेका थिए ।