• ११ जेठ २०८२, आइतबार

जग्गा विवादले पुल निर्माण अलपत्र

blog

हिमा गाउँपालिका–६ को बालुवाखोलामा अलपत्र परेको पुल । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता

सिँजा (जुम्ला), जेठ ११ गते । जुम्ला हुँदै मुगुको राराताल जाने पर्यटकीयमार्ग नाग्म–गमगढी सडक अन्तर्गत बालुवाखोला र गोठीज्युलाका पक्की पुल अलपत्र परेका छन् । सो सडकखण्डमा १० वटा पक्की पुल निर्माण थालिएकोमा दुई वटा अलपत्र परेका छन् । जग्गा विवादका कारण दुई वटा पक्की पुल बर्सौंदेखि अलपत्र अवस्थामा छन् । नाग्म–गमगढी सडकको प्रवेशविन्दु कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिकाको सीमा क्षेत्र बालुवाखोला र कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठीज्युला खोला पुल जग्गा विवादले अलपत्र परेका हुन् । 

सडक विभागको ३२ करोड लगानीमा नाग्म–गमगढी सडकमा १० वटा पुल निर्माण हुँदै छन् । यीमध्ये दुई वटा करिब चार वर्षदेखि अलपत्र अवस्थामा छन् । बालुवाखोलामा हिमा गाउँपालिकातर्फ पिल्लर खडा भएको बर्सौं भइसक्यो । कालीकोटतर्फको जग्गाधनीले जग्गा दिन नमानेपछि पुल निर्माण अघि बढ्न नसकेको बताइएको छ ।  

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार जग्गाधनीसँग पटक पटक भएको छलफल निष्कर्षविहीन भएको छ । उहाँले मुआब्जाको माग राखेकाले पुल निर्माण रोकिएको भन्दै मन्त्रीपरिषद्को निर्णयबिना मुआब्जा दिन नमिल्ने बताउनुभयो । उहाँले यस विषयमा लेखेर विभागमा पठाएको जानकारी दिनुभयो । बर्खाको सिजन आइरहेकाले खोलामा पानीको बहाब बढेर सवारीसाधन नै बगाउने जोखिम छ तर ठेक्का भइसक्दा पनि जग्गा नमिल्दा पुल निर्माणमा सकस भएको छ । 

उता कनकासुन्दरी–६ स्थित गोठीज्युला खोलामा बन्ने २० मिटर लामो पक्की पुल पनि अलपत्र अवस्थामा छ । पुल बनाउँदा खत्याड जाने बाटो बन्द हुने र केही घर भत्काउनुपर्ने भएकाले स्थानीयले जग्गा दिन मानेका छैनन् । डिभिजन प्रमुख चौधरीका अनुसार अब २० मिटर लामो पुलको डिजाइन फेरेर पाँच मिटरमात्रै लामो हुने गरी निर्माण गर्ने तयारी छ । कुल ३२ करोड लागतमा विभिन्न खोलामा निर्माण भइरहेका अन्य आठ वटा पुल भने अन्तिम चरणमा पुगेका छन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले आफू निर्वाचित भएदेखि नै जग्गा विवाद सल्टाउन प्रयास गरे पनि सम्भव नभएको बताउनुभयो । 

सडक डिभिजन र निर्माण व्यवसायी यसमा जवाफदेही हुन नसकेको उहाँको तर्क छ । जग्गा विवादले पुल निर्माण रोकिएपछि हिमा गाउँपालिकाले आफ्नै लगानीमा रारा जाने पर्यटकको राहतका लागि काठेपुल बनाएको छ । सडक डिभिजन जुम्लाका तत्कालीन प्रमुख दीपेन्द्र विष्टले पनि विवादित बालुवाखोला पुल निर्माण अघि बढाउन पहल नगर्नुभएको होइन । 

केही स्याउ र ओखरका बिरुवा भएको जग्गा मुआब्जा नपाए नदिने जग्गाधनीको अडानले पुल निर्माण प्रभावित भएको उहाँले बताउनुभयो । मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहिलेबहादुर रावतको अडानले काम अघि बढ्न सकेन । रावतले गत वर्षको छलफलमा २५ लाख रुपियाँसम्म मुआब्जा दिनुपर्ने माग राख्नुभएको थियो । त्यो रकम निर्माण व्यवसायी र सडक डिभिजनले दिन सक्ने अवस्था छैन ।

कालिकाखेतु खोला, बाजागाडा खोला, विष्टबाडा खोला, रोकायाबाडा, पिनाखोला र गमगाड खोलाको पक्की पुल निर्माण भने धमाधम भइरहेको छ । विष्टबाडाको पुल निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेको छ । २०७८ फागुन ९ गते ठेक्का सम्झौता भई २०८२ साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि दुई वटा पुल अलपत्र भएकाले म्याद थप्नुपर्ने अवस्था आएको सडक डिभिजन जुम्लाले जनाएको छ । आठमध्ये सात पुलको भौतिक प्रगति करिब ७० प्रतिशत छ । ९३ किलोमिटर दुरी रहेको नाग्म–गमगढी सडकका विभिन्न खण्डमा पक्की पुल बनेपछि यात्रा सहज हुने स्थानीयको आशा छ ।