कालीकोट, समाचारदाता
कालीकोट, जेठ ११ गते । वर्षा लागेसँगै जमुनाह–हिल्साको कर्णाली कोरिडोरमा जोखिम बढेको छ । कोरिडोरका विभिन्न ससाना खोलामा पुल नभएकाले बर्सातमा सधैँ सास्ती हुने गरेको छ । यो वर्ष पनि वर्षा सुरु भएसँगै यात्रुले दुःख पाउन थालेका छन् । कर्णाली कोरिडोरको खुलालु खण्डदेखि बाजुराको भुकाखोलासम्म पाँच वटा ससाना खोला छन् । तीमध्ये सबैभन्दा ठुलो खोला रास्कोट नगरपालिका–८ मा पर्ने फुगाड खोला हो । जहाँ कर्णाली कोरिडोर निर्माण गर्ने समयमा नेपाली सेनाले जोडेको बेलिब्रिज बाढीले बगाएको अहिले चार वर्ष पुग्दै छ ।
२०७९ असोजमा आएको बाढीले यहाँको बेलिब्रिजसहित झोलुङ्गे पुल बाढीले बगाएका कारण बर्सातको समयमा यात्रा निकै जोखिम हुने गरेको छ । बर्सात सुरु भएसँगै यहाँको यात्रा निकै जोखिमपूर्ण भएको छ ।
माथि भिरबाट ढुङ्गा खस्ने र खोलामा पानीको सतह बढ्ने भएकाले स्थानीय नागरिकदेखि कर्णाली कोरिडोरमा यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन् । हिजोआज परेको सामान्य पानीले समेत यहाँ पानीको सतह बढिसकेको छ । जहाँ खोलामा मोटरसाइकल युवाको सहायतामा तारिरहेका छन् । बर्सातको समयमा पानी बढेमा मालवाहक गाडीसमेत तर्न सक्दैन । पुल भत्काउने गरी पानीको बहाब हुन्छ । स्थानीय भानुप्रसाद बरालले बर्सातको समयमा पानीको सतह धेरै हुने गरेको बताउनुभयो ।
“हामीलाई निकै दुःख छ, खेती गर्नुपर्ने, यही ठाउँमा बस्नुपर्ने, बास यही छ तर भिरबाट ढुङ्गा र खोलाबाट बाढी दुवैतिरको त्रासमा हामी बस्ने गरेका छौँ,” उहाँले भन्नुभयो, बरालले रास्कोट नगरपालिकाले ग्रामीण सडक निर्माण गरेकाले माथिल्लो क्षेत्रको जमिन थर्केका कारण ढुङ्गासँगै पानीको लेदो बग्ने गरेको सुनाउनुभयो । यहाँ पुल नभएकाले कोरिडोरमार्फत यात्रा गर्ने कालीकोटसँगै बाजुरा, मुगु र हुम्लाका नागरिकलाई असोजसम्म निकै दुःख हुने गरको छ ।