गार्डेन राई
सोलुखुम्बु, जेठ ११ गते । ७२ औँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । जेठ १३, १४ र १५ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा ५ नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ ७२ औँ सगरमाथा दिवस मनाउन लागेको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।
दिवसको अवसरमा ३ दिनसम्म नाम्चे बजारमा सञ्चालन हुने कार्यक्रममा खुला भलिबल प्रतियोगिता, मिनी म्याराथन, शेर्पा नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको नाम्चे युवा समूहका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
साङ्गीतिक कार्यक्रमका लागि गायक राजु लामा र उहाँको ब्यान्ड मंगोलियन हर्ट खुम्बु आउने आयोजकले जनाएको छ । सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको दिनको अवसरमा हरेक वर्ष मे २९ मा सगरमाथा दिवस मनाइन्छ ।
सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेक्नुभएको थियो । आरोही हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भयो ।
पर्यटन विभागका अनुसार वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म तीनसय ९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।