• ११ जेठ २०८२, आइतबार

बजेटको तयारीमा साँफेबगर

blog

साँफेबगर समाचारदाता

अछाम, जेठ ११ गते ।  साँफेबगर नगरपालिका बजेटको तयारीमा जुटेको छ । असार १० भित्रै नगर सभा बोलाएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार साँफेबगर नगरपालिका बजेटको तयारीमा अगाडि बढेको हो । बजेटकै तयारीस्वरूप साँफेबगर नगरपालिकाले प्रत्येक वडालाई जेठ १५ भित्र वडामा टोल भेला गरेर बस्तीका योजना छनोट गर्न भनेको छ । 

साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणनाथ योगीले बिहीबार जारी गर्नुभएको सूचनामा आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम साथै वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका साथै योजना बैङ्क स्थापना गर्नुपर्ने भएकाले जेठ १५ भित्र योजना छनोट गर्ने भनिएको छ । यस्तै बिहीबार जारी गरिएको अर्को सूचनामा शुक्रबार बिहान साँफेबगरमा कार्यरत गैरसरकारी संस्थालाई नगरपालिकामा समन्वयात्मक बैठक पनि गरेको छ । आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रमका साथै वार्षिक बजेट निर्माणका लागि गैससका कार्यक्रमसहित आउन निमित्त प्रमुख प्रशासकीय अधिकृत योगीले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

साँफेबगर नगरपालिकाले बजेटबारे रायसुझाव लिने कार्यको सुरुवात गरेको नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । साँफेबगर नगरपालिकाले आगामी आवको बजेटमा सामाजिक विकास रूपान्तरण अन्तर्गत बालविवाह, जातीय छुवाछुत, छाउगोठमुक्त कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिनुभयो ।