• ११ जेठ २०८२, आइतबार

मुग्लिङ–नारायणगढ सडकमा सतर्कता

blog

मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा पुनः पहिरो आउन नदिन निर्माण गरिएको ‘चेक ड्याम’ । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, जेठ ११ गते । बर्सातमा पहिरो आएर राजमार्ग अवरुद्ध हुन सक्ने जोखिम आउन नदिन डिभिजन सडक कार्यालय भरतपुरले सतर्कता अपनाएको छ । पहिरो जाने सम्भावित क्षेत्रमा पहिरो रोक्ने चेक ड्यामसहितको पर्खाल निर्माण गरेको छ भने भासिन सक्ने स्थानमा निर्माण कार्य अघि बढाइएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण लामिछानेले नारायणगढ–मुग्लिङ सडकखण्डमा हुन सक्ने समस्या पहिचान गरेर काम गरेको जानकारी दिनुभयो । गत वर्षको असारमा सिमलतालमा दुई वटा बस पहिरोले बगाएपछि त्यस खालको दुर्घटना पुनः नदोहोरियोस् भन्नका लागि सावधानी अपनाएको उहाँले बताउनुभयो । 

पहिरो जाने स्थानको मात्र नभएर सडक भासिने समस्या पनि यस खण्डमा रहेको छ । सत्र किलोमा त्रिशूली नदीतर्फ सडक भासिएर सवारीसाधन एकतर्फी सञ्चालन हुने गरेका छन् । त्यस स्थानमा भासिन नदिनका लागि जोखिम पहिचान गरेर पर्खाल लगाएको उहाँले बताउनुभयो । अन्य स्थानमा पनि भासिने जोखिम पहिचान गरेर काम भइराखेको उहाँको भनाइ छ । गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागबाट लेदो बगेर नआओस् भन्नका लागि ‘चेक ड्याम’ निर्माण गरिएको छ । यस्तै मौरीखोला पुलको माथिल्लो भागमा पनि ‘चेक ड्याम’ र खोल्सो बनाउने (लाइनिङ) को काम भएको छ ।

“कालीखोलालगायतका जोखिमयुक्त ठाउँमा पनि आवश्यकता अनुसार पहिरो रोकथामका काम भएको छ । यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरेका छौँ,” लामिछानेले भन्नुभयो, “पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको छ ।” सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, एक्साभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको उहाँले जानकारी दिनुभयो । यसै गरी भरतपुरको कार्यालयमा पनि यस्ता थप उपकरण तयारी अवस्थामा राखिएको छ । गत वर्षको असार २८ गते दुई वटा रात्रिबससँगै ६२ जनालाई बगाएको थियो । तीमध्ये कतिपय अझै बेपत्ता छन् भने बससमेत फेला परेका छैनन् ।