गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ११ गते । बालगायिका आँचल बसेलको ‘मेरो हिमाल’ बोलको राष्ट्रभक्ति गीत सार्वजनिक भएको छ । डा. केएन स्वामी (डा. केशवानन्द गिरी) को रचना रहेको गीत बसेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा नेपालको हिमालदेखि तराईसम्मका सौन्दर्यको बयान गरिएको छ । यसै गरी तराईका माथि चढ्नुपर्ने र हिमालका तल झर्नुपर्ने सन्देश गीतमा पाइन्छ । परदेश गएकालाई फर्कन आग्रह गर्दै स्वदेशमै श्रम गरेमा मोती फल्न सक्ने भाव गीतले दिएको छ ।
स्वदेशको महिमा समेटिएको गीत विद्यालयका बालबालिकाले गुनगुनाउन सक्ने गरी मिठो भाकामा प्रस्तुत गरिएको छ । गीतमा सङ्गीत सच्चिन्द्र पौडेलले दिनुभएको छ भने सङ्गीत संयोजन राजेन्द्र बाइबाको रहेको छ । गायिका बसेल, एलेक्सा गिरि, अदिति खनालले अभिनय रहेको गीतको नृत्य निर्देशन चाँदनी शाहीले गर्नुभएको हो । भिडियोको निर्माता देवराज बसेल हुनुहुन्छ ।