• ११ जेठ २०८२, आइतबार

मर्स्याङ्दीमा पूर्ण क्षमतामै विद्युत् उत्पादन

blog

तनहुँ समाचारदाता

तनहुँ, जेठ ११ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रद्वारा पूर्ण क्षमतामै विद्युत् उत्पादन भएको छ । हिउँदमा ४० प्रतिशत मात्रै विद्युत् उत्पादन हुँदै आएकोमा वर्षायाम सुरु भएसँगै हाल पूर्ण क्षमतामै सञ्चालनमा आएको केन्द्रले जनाएको छ । 

केन्द्रले हिउँदमा ४० प्रतिशत अर्थात् ३० मेगावाट उत्पादन गरेकोमा हाल बढेर पूर्ण क्षमता ६९ मेगावाट पुगेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो । सुक्खायाम भएकाले नदीमा पानीको बहाब कम भएकाले उत्पादन घटेकोमा वर्षा लागेसँगै बढ्न थालेको उहाँले बताउनुभयो । 

केन्द्रमा २३/२३ मेगावाटका तीन वटा टर्बाइन रहेका छन् । ती सबैले पूर्ण क्षमतामा उत्पादन गरेकाले हाल ६९ मेगावाट उत्पादन भइरहेको गौतमले जानकारी दिनुभयो । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । वर्षायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी बढ्दै गएको, घाम चर्को लाग्ने भएकाले हिउँ धेरै पग्लिने गरेकाले पूर्ण क्षमतामा उत्पादन हुन थालेको गौतमले जानकारी दिनुभयो । 

हिउँदमा पानी कम परेकाले नदीमा मिसिने स्रोतमा पानीको बहाब कम भएपछि उत्पादन घट्ने र जेठ लागेपछि पानी धेरै पर्ने भएकाले उत्पादन बढ्ने गर्छ ।