गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ११ गते । सङ्घीय राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको त्रिभुवन राजपथको नागढुङ्गा–पिपलामोड खण्ड १५ दिनका लागि आंशिक बन्द हुने भएको छ । जेठ १० देखि २५ गतेसम्म बिहान साढे दस बजेदेखि अपराह्न तीन बजेसम्म आंशिक बन्द हुने नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।
पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाले आयोजनाको सो खण्डको कालोपत्रे गर्नुपर्ने भएकाले दैनिक साढे चार घण्टा बन्द गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ भित्रिने मुख्य राजमार्गका रूपमा रहेको
सो खण्डको निर्माण मनसुन सुरु हुनुअघि नै सम्पन्न होस् । मनसुन सुरु हुनुअघि नै काम सम्पन्न गर्न सकिएन भने अत्यन्तै उकालो–ओरालो र घुम्ती रहेको सो खण्डमा सवारीसाधन चिप्लिने र दुर्घटनासम्म भई जनधनको समेत क्षति हुन सक्ने भएकाले बन्द गरेरै काम सुरु गरिएको हो ।”
यसअघि एक लेन (वन–वे) मा सवारीसाधन सञ्चालन गरेर काम गर्दा लामो दुरीसम्म जाम हुने र काम पनि लक्ष्य अनुसार नहुने भएकाले अन्त्यमा बाटै बन्द गर्नुपरेको आयोजना प्रमुख ओझाले स्पष्ट पार्नुभयो । उहाँका अनुसार आयोजनाको पूर्वी खण्डको कुल १२ किलोमिटरमध्ये नौ किलोमिटरको काम सम्पन्न भइसकेको छ । तीन किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य छ । उहाँले यस सडकखण्डको विकल्पमा सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडकमार्ग र सामाखुसी–टोखा–गुर्जेभन्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग प्रयोग गर्न सबैसँग आग्रह गर्नुभयो । नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना अन्तर्गत कुल ९५ किलोमिटर सडक विस्तार भइरहेको छ ।