• ११ जेठ २०८२, आइतबार

पानीको स्रोतको व्यवस्थापन हुनुपर्छ : नेता निधि

blog

नेपाल खानेपानी संस्थान कर्मचारी संघले जनकपुरमा गरेको कार्यशालामा बोल्दै काँग्रेस नेता बिमलेन्द्र निधि । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, जेठ १० गते। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले जलस्रोतको धनी देश नेपालमा पिउने पानीको अभाव हुनु चिन्ताको विषय भएको भन्दै पानीको व्यवस्थापनमा तीन तहका सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ। 

नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिले मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार आयोजना गरेको नेपाल खानेपानी संस्थानले मधेश प्रदेशमा दिएको सेवा, स्वच्छ पानीमा उपभोक्ताको हक, पानी शुद्धिकरण अभियान, महसुल तथा थप सेवा विस्तार विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले नेपालमा पानीको स्रोत, जंगल र युवा जनशक्ति प्रयाप्त हुँदा पनि यसको सफल व्यवस्थापन हुन नसकेको बताउनुभयो। उहाँले मधेश प्रदेशमा पानीको प्रर्याप्त स्रोत हुँदा हुँदै पनि पिउने पानीको अभाव भइरहेको भन्दै यस समस्यालाई दीर्घकालीन योजना बनाएर तिनै तहका सरकारले एक अर्काको बीचमा समन्वय गरी समाधान गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘प्रकृतिको भण्डारबाट हामीले खाँली गर्छौं। तर खाली भएपछि भर्ने काम हामीले गर्दैनौं। त्यसैले यस्ता खालका समस्या आउँछ। उहाँले पानीको सन्तुलन कायम राख्नका लागि वर्षाको पानी र सतहको पानी कसरी बढी प्रयोग गर्न ध्यान दिनुपर्ने बताउनुभयो। जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले वर्षा र सतहको पानीलाई व्यवस्थापन गर्न नसके भविष्यमा पानीको ठुलो संकट आउनसक्ने भन्दै नेपालको विभिन्न नदी नला भएर बग्ने पानीको समुचित व्यवस्थापनका लागि ठोस नीति निमार्ण हुनुपर्नेमा जोड दिनुभयो।

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले खाने पानीको काम गर्नका लागि तिनै तहका सरकारलाई संविधानले अधिकार दिएको भन्दै आ–आफनो अधिकार क्षेत्रमा रहेर तिनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो।  उहाँले जमिन भित्रमा पनि सीमित पानी रहेको उल्लेख गर्दै जमिन भित्रको पानीको बढी प्रयोगले चप्पाकल सुख्ने समस्य आइरहेको भन्दै जमिन मुनिबाट निकालिएको पानीको पुनरभरणको काम हामीले गर्नु आवश्यक भएको बताउनुभयो। 

कार्यक्रममा भएको विभिन्न तीनवटा प्रस्तुतिमा नेपालमा खानेपानीको अवस्था र नेपाल खाने पानी संस्थानले प्रवाह गरेको सेवा र जनचेतनाको स्तरबृद्धिका लागि गर्नुपर्ने कामकाजको विषयमा बृहत् छलफल गरिएको थियो। 

मधेश प्रदेशमा रहेको जम्मा घरधुरी ११ लाख ५६ हजार ७१५ मध्ये ३.२३ प्रतिशत घरधुरीमा नेपाल खानेपानी संस्थानले आफ्नो सेवा प्रवाह गरिरहेको तथ्यांक प्रस्तुत गरिएको थियो। नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको सो कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।