काठमाडौँ, जेठ १० गते । दक्षिण कोरियाको मुमीमा मे २७ देखि ३१ तारिखसम्म हुने २६औँ एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेभएका छन् ।
च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीसहित एक जना प्रशिक्षकको सहभागिता रहने नेपाल एथलेटिक्स सङ्घले जनाएको छ । जसमा पुरुष १५ सय र पाँच हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र एक सय र दुई सय मिटर दौडमा शिवराज पार्कीले प्रतिस्पर्धा गर्नुहुनेछ ।
महिला ज्याभ्लिन थ्रो र सटपुटमा चन्द्रकला लाम्गाडे तथा आठ सय र १५ सय मिटर दौडमा फुलमती रानाले प्रतिस्पर्धा गर्नुहुनेछ । प्रशिक्षकमा उषाकर्ण चौधरी रहनुभएको छ । नेपाली टोली शिनबार राती कोरिया प्रस्थान गर्नेछ ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल एथलेटिक्स सङ्घ, तदर्थ समितिका संयोजक एवं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले शनिबार नै बिदाइ गर्नुभयो ।