• १० जेठ २०८२, शनिबार

मनाङका माटाका घर जोखिममा

blog

माटाका छानो भएका मनाङका घरहरू । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, जेठ १० गते ।
माटाका छानो भएका मनाङका घरहरू हराउँदै गएका छन् । रैथाने सीप, ज्ञान र प्रविधिमा घरको छतमै माटो जमाएर बनाइएका घरहरू जलवायु परिवर्तनको चेपुवामा पर्न थालेका छन् ।

मनाङमा औसतभन्दा अधिक वर्षा र लगातार झरी पर्न थालेपछि माटोले बनाइएका परम्परागत घरको छत भिजेर चुहिन थालेका छन् । विशेष गरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा रहेका यस्ता पुरातन सांस्कृतिक शैलीका घर वर्षाका कारण नासिने क्रममा रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामा बताउनुहुन्छ ।

सदरमुकाम चामेमा पुराना परम्परागत घरहरू देखिन छाडेका छन् । विकासको क्रमसँगै आधुनिकताले छोप्दै लैजाँदा नासोँ तथा चामे गाउँपालिकामा धेरैजसो घरहरू आरसिसी गरी निर्माण भएका छन् । तर मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने पुरातन शैलीका सांस्कृतिक सम्पदाहरू अझै पनि देख्न सकिन्छ । आफ्ना सन्ततिका लागि पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक, गुम्बा, छोर्तेन तथा देवस्थलको अस्तित्व नासिँदै जान थालेका छन् ।

एकातिर जलवायु परिवर्तनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशुचौपायाको स्वास्थ्य, सामाजिक सांस्कृतिक धरोहरू नष्ट हुने, रैथाने सीप, पहिचान तथा ज्ञान नासिने गरेको छ भने अर्कोतर्फ जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानि पुग्न थालेको छ । हिउँ र पानी कम पर्ने चक्र फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर पर्न थालेको छ । पर्यावरणीय प्रभावका कारण जीवनयापन, वातावरणीय अवस्था तथा आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थामा फेरबदल हुन थालेको छ ।

पर्यटकको ‘हब’का रूपमा परिचित मनाङमा आउने विदेशी पर्यटकहरू तिलिचो जान मात्रै आउँदैनन् । उनीहरू यहाँको जीवनशैलीको अध्ययन गर्न पनि आउँछन्, हामीले मनाङीको संस्कृति जोगाउन पनि यी मौलिक पहिचान भएका गुम्बा, छार्तेन, माटाका घर आदिको संरक्षण गर्नुपर्दछ’–नार्पाभूमिका अध्यक्ष लामाले थप्नुभयो । उहाँले नार्पाजातिको संस्कृति, रीतिरिवाज संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

नार्पाभूमिमा गाउँ छाड्दा साइत हेरेर मात्र नस्किने तथा छोर्तेन घुमेर गाउँ छिर्ने चलन अहिले पनि रहेको छ । गाउँको प्रवेशद्वारका रूपमा अहिले पनि छोर्तेनहरू देख्न पाइन्छ । यी परम्परागत गुम्बा छोर्तेन यहाँका सम्पत्ति हुन् । संरक्षणको अभावमा यहाँका गुम्बा छोर्तेन तथा माटाका घरहरूको छानो चुहिएर दलिन, खम्बा र निदाल कुहिएर मक्किएका छन् । 

बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । यस्ता घरमा बस्दा जाडो याममा चिसोजन्य रोगले छुँदैन । तर आधुनिकता छुँदै गर्दा आरसिसी घरहरू बन्ने क्रम जारी छ । यस्ता घरहरूमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुन्छ । विज्ञहरूका अनुसार माटोले बनेका घरहरूले तातो चिसो सोसेर राख्छ, जसले गर्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ ।