• १० जेठ २०८२, शनिबार

मोरङमा ठुलो परिमाणमा लागु औषधसहित सयौं पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषधीसहित पक्राउ गरेको व्यक्तिहरू । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल
विराटनगर, जेठ १० गते ।
मोरङ जिल्लामा पछिल्लो समय अवैध लागु औषध ओसारपसार, कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरीले व्यापक अभियान सञ्चालन गरेको छ । सिमानाबाट हुने लागु औषधको अवैध ओसारपसार, कारोबार तथा दुर्व्यसन नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै प्रहरीले सशक्त कदम चालेको हो । यस क्रममा प्रहरीले ठुलो परिमाणमा विभिन्न लागु औषध बरामद गर्नुका साथै सयौँलाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

प्रहरीले सिमा क्षेत्रमा कडाइ, आन्तरिक जाँच, सूचना सङ्कलन र गस्ती कार्यलाई तीव्रता दिँदै ठुलो मात्रामा लागु औषधसहित सयौँ व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि वैशाख मसान्तसम्म मोरङमा प्रहरीले १३ जना महिलासहित ४७२ जनालाई लागु औषधसहित पक्राउ गरी ३२९ वटा मुद्दा दर्ता गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा प्रहरीले दुई हजार २८५ किलोग्राम गाँजासहित ११० जना, ७७३ ग्राम ब्राउनसुगरसहित २१५ जना र विभिन्न ब्रान्डका करिब ७० हजार ट्याबलेट प्रतिबन्धित लागु औषधसहित १४७ जनालाई पक्राउ गरी मुद्दा चलाएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश युवा रहेका छन् । जसमा विराटनगर, रङ्गेली, बेलबारी, लेटाङ, उर्लाबारी, इटहरी र धरानलगायतका क्षेत्रका स्थानीय मात्र नभई अन्य जिल्ला र सीमापारिका केही व्यक्ति पनि छन् ।

प्रहरीले भारतीय सिमा नजिकका नाका र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी राखेको छ । सिमावर्ती क्षेत्रमा लागु औषध ल्याइने प्रमुख मार्गहरू पहिचान गरेर कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताउनुभयो ।

प्रहरीले लागु औषध नियन्त्रण अभियानको क्रममा विशेष निगरानी र गस्ती बढाएको, सूचना सङ्कलन, सूचना दिनेलाई प्रोत्साहन गर्ने, विद्यार्थी र अभिभावकमाझ सचेतना अभिवृद्धि लगायत कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पछिल्लो समय केही विद्यालय, क्याम्पस क्षेत्र, तथा सार्वजनिक स्थानहरूलाई ‘नो ड्रग्स जोन’ घोषणा गर्दै ती क्षेत्रमा विशेष निगरानीसमेत थालेको बताइएको छ ।

त्यसैगरी, प्रहरीको ‘इन्टेलिजेन्स युनिट’ ले सूचनाको आधारमा लागु औषध निययन्त्रणका लागि लक्षित अपरेसनसमेत सञ्चालन गर्दै आएको प्रहरी उपरीक्षक चिमरियाको भनाइ छ ।

लगु औषध नियन्त्रणका लागि मोरङमा प्रहरी र समुदायबिचको सहकार्य मजबुत पार्दै सामुदायिक प्रहरी साझेदारीअन्तर्गत अभिभावक, शिक्षक, युवा समूह र महिला सङ्घ संस्थासँग समन्वयमा सचेतना अभियान चलाइएको छ ।