काठमाडौँ, जेठ १० गते । नेपाल मिक्स बक्सिङ सङ्घ, उमा नेपाल र बूढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, थाइल्यान्ड, बङ्गलादेश र श्रीलङ्का गरी ६ देशका एक सय ५० खेलाडीको सहभागिता रहने आयोजक मिक्स बक्सिङ सङ्घका अध्यक्ष सुकमान लामाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । प्रतियोगितामा इराक, इरान र अफगानिस्तानका प्रतिनिधि पनि नेपाल आउने छन् ।
बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियर गरी विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा हुने छ । कुनैपनि मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक सुमन तामाङले प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभयो ।