• ११ पुस २०८२, शुक्रबार

सुन्दर नगरी गिज्याइँ रहेको पार्क

blog

गुल्मी तम्घासको थ्रिडी पार्क । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, जेठ १० गते ।
लामो इतिहास बोकेको लाँकुरी चौपारी मासेर तम्घासको मुटुमा आधुनिक थ्रिडी पार्क बनेका पाँच वर्ष भयो । नयाँ संरचनाको थ्रिडी पार्क युवा पुस्तालाई मन परे पनि तम्घासका धेरैले यसको आलोचना गरे । करिब ६५ लाखमा शङ्खसहित बनेको थ्रिडी पार्कले आलोचना मात्रै खेपेन यसको दीर्घकालीन संरक्षण समेत भएन् । यही अलपत्र पार्कमा दुई वर्ष अघि प्युठानको गौमुखी गाउँपालिका–२ अर्खा डाँडागाउँकी नौ वर्षीया खुसी परियार र तम्घासकै १२ वर्षीय लक्ष्मी परियार लडेर घाइते हुनुभयो, तर पार्कको संरक्षणमा कसैको ध्यान गएन ।

जिल्लामा अख्तियारको प्रतिनिधि संस्था जिल्ला प्रशासन कार्यालय र जिल्लाका योजनाहरूको अनुगमन गर्ने जिल्ला समन्वय समितिको मुखमै करिब ६५ लाखको थ्रिडी पार्क पटक–पटक अलपत्र हुने गरेको छ । सदरमुकाम र जिल्लाका ठुला अड्डाको अगाडि करिब ६५ लाख रुपियाँको योजना पटक–पटक फुट्ने, तोडफोड हुने र झाडी बनेर अलपत्र हुने गरेको छ । आलोचना भएपछि केहीबेर झार उखेल्ने, सफा गर्ने र संरचना निर्माण गर्ने भए पनि दीर्घकालीन ठोस योजना छैन । गत सोमबारसम्म झाडीले बेहाल पार्क निकै आलोचना भए पनि मङ्गलबार सफा गरिएको छ ।

नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डेयले निरर्थक काममा राज्यको बजेट फाल्ने प्रवृतिको उदाहरण बनेको कथित थ्रिडी पार्क हटाएर पुरानै लाँकुरीमञ्च बनाउनुपर्नेमा आम नागरिकको धारणा रहेको बताउनुभयो । उहाँले सदरमुकाकै मुटुमा लाखौँको योजनाको दुर्दशाले ग्रामीण भेगको अवस्था कस्तो होला भनेर कल्पना पनि गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “ठुलो पहिचान बोकेको लाँकुरी चौपारी मासेर आधुनिकताको नाममा बनेको पार्कको हविगत राम्रो भएन ।”

बालबालिकाको पासो बनेको पार्कका विषयमा नियामक निकाय कोही बोल्दैनन् ।” यो योजना आर्थिक बर्ष २०७५/०७६ रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा थ्रिडी पार्क निर्माण गरिएको हो । पछि करिब १० लाखको पुनः काम गरिएको छ । अहिले पार्कको अवस्था हरिबिजोक बनेको छ । उद्घाटन गरेको केहि समय फोटो खिच्ने र प्रचार गर्ने होड चल्यो । तर अलपत्र परेपछि कसैले फर्किएर हेरेनन् । अहिले पार्क झाडी र फोहोरले जेलिएको छ ।

नगर र प्राइभेट क्षेत्रबाट काम हुँदा पनि परिणाम राम्रो नभएकाले अबको विकल्पको बारेमा कार्यपालिकामा छलफल हुने रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताउनुभयो । उहाँले भन्नुभयो, “म आउनभन्दा पहिलेबाटै नगर र प्राइभेट सेक्टरबाट संरक्षणको प्रयासहरू भएका रहेछन् । तर दुवै विकल्प उपलब्धी मूलक नभएपछि थप छलफल कार्यपालिकामा गर्छौ ।” यो पार्कले रेसुङ्गा आफैँले सञ्चालन गरेको सुन्दर नगरको अभियानलाई समेत चुनौति दिएको छ । चरम आलोचना हुँदा बिगतका नगर बैठकहरूमा पनि पार्क भत्काउने वा उपयुक्त विकल्प खोज्ने भन्ने विषयमा छलफल हुने गरेका छन् । तर सबैको मत एउटै छैन । 

लाँकुरीमञ्च तम्घासको मुटु हो । लाँकुरीको चौतारीमा बसेर थुप्रै व्यावस्थाका विरुद्धमा खबरदारी भएका छन् । त्यहि मञ्चले थुप्रै नेता जन्मायो । विरोध वा विजय सभा गर्नुपरे नेता तथा कार्यकर्ता लाँकुरीमञ्चमा भेला हुने गदर्थे । मञ्चको बेग्लै पहिचान र इतिहास थियो । अहिले आधुनिक सहरको नाममा लाँकुरी मञ्च भत्काएर थ्रिडी पार्क निर्माण गरिएको छ । तर दिगो सञ्चालन र व्यवस्थापन प्रक्रिया अन्यौल भएका कारण पार्क अहिले बेवारिसे बन्दै गएको छ । आधुनिकताको नाममा वर्षौको इतिहास र राज्यको करिव ६५ लाख बालुवामा पानी भएको स्थानीय समेत रहनु भएका अधिवक्ता बिनोद पाण्डेयले बताउनुभयो ।