अविनाश चौधरी
धनगढी, जेठ १० गते । नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालनका लागि शनिबार छलफल गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रियसभा सदस्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गरेको हो ।
छलफलको क्रममा राष्ट्रियसभा सदस्य गरिमा शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न पूर्ण बजेटको व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो ।
कैलालीको गेटामा नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गएको आइतबार प्रतिनिधिसभाबाट विधेयक पारित भएको थियो ।
सो कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेकोमा प्रतिनिधि सभा र प्रतिनिधि सभा सदस्यलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसैगरी, ऐन अनुसार विश्वविद्यालय सञ्चालन गर्न लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्ण बजेट छुट्याउनु पर्ने मुख्यमन्त्री शाहको जोड थियो ।
छलफल कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायदत्त भट्ट, रेणु चन्द, आर्थिक मामिलामन्त्री सुरेन्द्र पाल, प्रदेशसभा सदस्य, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय आगो लगायतको उपस्थिति रहेको थियो ।