नवीनराज कुइँकेल
लमजुङ, जेठ १० गते । गत शनिबार एक साताका लागि स्थगित भएको लमजुङ तरुण दलको अधिवेशन पुनः स्थगित भएको छ । निर्वाचन समितिले पुनः सूचना प्रकाशिन गरी अधिवेशन स्थगित भएको जानकारी दिएको हो ।
गत शनिबार प्रतिनिधि विवाद र खुकुरी प्रहारसम्मका घटना भएपछि १० गतेसम्मका लागि अधिवेशन स्थगित गरिएको थियो । निर्वाचन समितिका निर्वाचन अधिकृत अधिवक्ता विजय प्रकाश अधिकारीले अर्को सूचना जारी नहुँदा सम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको जानकारी दिनुभयो । उद्घाटन सत्रमा संस्थापन पक्षले खुकुरी प्रहार गर्दा इतर पक्षका चार जना घाइते भएपछि अधिवेशन स्थगित गरिएको थियो ।
सो घटनापछि दुबै समूहका नेताहरू बसेर घटनालाई मिलापत्र गराइएको तरुण दलका केन्द्रीय सदस्य वृषराज गुरुङले जानकारी दिनुभयो । केन्द्रीय सदस्य गुरुङ, कार्यबहाक सभापति कुमरासी गुरुङ, अध्यक्षका प्रत्यासी हिरा गुरुङ र घाइते खुसीजङ्ग गुरुङबिच सहमति भई वक्तव्य जारी गरिएको थियो । सो वक्तव्यमा अध्यक्षका प्रत्यासी हिरा गुरुङले उम्मेदवारी फिर्ता लिएको र निर्वाचन प्रक्रिया अघि बढाइदिन केन्द्रीय समितिलाई अनुरोध गरिएको छ ।
नेपाल तरुण दल लमजुङका आठ वटै स्थानीय तहका अध्यक्षहरूले पनि संयुक्त वक्तव्य जारी गर्दै सो सहमतिको स्वागत गरेका छन् । अधिवेशनमार्फत सम्पन्न उम्मेदवारी मनोनयन तथा निर्वाचन कार्यक्रमलाई अनुमोदन गरी सार्वजनिक गर्न केन्द्रीय कार्यालयलाई अनुरोध समेत गरेका छन् ।
तर, जिल्ला प्रहरी कार्यालयमा खुकुरी प्रहार गर्ने चार जनाविरुद्ध जाहेरी दर्ता भएकाले अधिवेशनको कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ । पीडितका तर्फबाट मध्यनेपाल नगरपालिका–७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–५ का कुमराशी गुरुङ (भूपेश) लाई ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दर्ता भएको छ । सो घटनामा वडाध्यक्ष खुसीजङ्ग गुरुङ, नेविसङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी, लमजुङ कांग्रेसका जिल्ला सदस्य सन्तोष बस्नेत र नेपाल तरुण दल लमजुङका सदस्य शंकर सापकोटा घाइते हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालयका लमजुङका प्रमुख डिएसपी रेशम बोहोराले मुद्धा दर्तापछि घटनाका आरोपितहरूको खोजी भइरहेको जानकारी दिनुभयो ।