मस्को, जेठ १० गते । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रूस हाल पनि विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमध्ये अग्रस्थानमा कायम रहेको जानकारी दिनुभएको छ । उहाँले रूसी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय माग देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘रूसले अझै पनि विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर रहँदै आएको छ ।’’ यो मन्तव्य राष्ट्रपति पुटिनले सैनिक–प्रविधिक सहकार्यसम्बन्धी बैठकका क्रममा दिनुभएको हो ।
टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उहाँले सन् २०२४ मा रूसले प्रायः सबै हतियार निर्यातसम्बन्धी प्रतिबद्धता पूरा गरेको जानकारी दिनुभयो । साथै, उहाँले उल्लेख गर्नुभयो, ‘‘रूसी सैन्य उत्पादनहरूको माग निकै उच्च रहेको र हाल अर्बौँ डलर बराबरको अर्डर रहेको छ ।’’
उहाँले सम्बन्धित सरकारी निकायहरूलाई हतियार निर्यातमा वृद्धि गर्न आवश्यक नीतिगत पहल तथा राज्यीय समर्थन कार्यक्रमहरू अघि बढाउन निर्देशन दिनुभयो ।
राष्ट्रपतिले भन्नुभयो कि रूसी सैनिक उपकरण तथा हातहतियारहरूमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य–औद्योगिक क्षेत्रको मुख्य दायित्व भनेको रूसको विशेष सैन्य अभियानलाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो ।
उहाँका अनुसार, रूसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको छ, जसका कारण निर्यात विस्तारको सम्भावना अझ बलियो हुँदै गएको छ । रासस/सिन्ह्वा