• १० जेठ २०८२, शनिबार

चौदण्डीगढीको मध्यावधि कार्य प्रगति सार्वजनिक

blog

सडकमा ग्राभेल गरी सडक स्तरोन्नति गरिँदै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल
गाईघाट, जेठ १० गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले मध्यावधि कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख कालुमान लामालगायत स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूले नगरदेखि वडा तहसम्ममा रहेर सम्पादन गर्नुभएका विकास निर्माणका विभिन्न कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

नगर प्रमुख कालुमान लामाले करिब दुई सय पृष्ठ लामो प्रगति प्रतिवेदन सार्वजनिक गर्नुहुँदै आफूहरू निर्वाचित भएर आएपछि नगरपालिकाबाट सम्पन्न गरिएका कामहरूलाई पहिलोपल्ट दस्तावेजको रूपमा अभिलेखीकरण गरी मध्यावधि कार्य प्रगति सार्वजनिक गरिएको हो भन्नुभयो ।

नगर प्रमुख लामाले आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण र खानेपानी जस्ता जनताका आधारभूत आवश्यकताका विषयमा पहिलो प्राथमिक्तामा राखेर बजेट विनियनेजन गरी कार्य सम्पादन गर्दै आएकोे बताउनुभयो ।

नगरपालिकाले तीन आर्थिक वर्षमा कुल एक अर्ब ७१ करोड ८१ लाख दुई हजार २५६ रुपियाँ खर्च गरेको जनाएको छ । जसमा एक अर्ब २९ करोड ३५ लाख ९२ हजार ५७० रुपियाँ चालु तर्फ खर्च भएको छ भने ४२ करोड ४५ लाख नौ हजार ६८७ रुपियाँ पुँजीगत खर्च भएको छ । जसमा आफ्नो आन्तरिक आय तर्फ आर्थिक वर्ष २०७९/०८० मा तीन करोड ७५ लाख ८४ हजार ५४६, आव २०८०/०८१ मा छ करोड ७१ लाख ७३ हजार ३५४ र आव २०८१/०८२ को मङ्सिर मसान्तसम्ममा दुई करोड ४२ लाख ५८ हजार २६७ रुपियाँ आम्दानी भएको जनाइएको छ ।

यस अवधिमा भौतिक पूर्वाधार तर्फ करिब १५ किलोमिटर सडक कालोपत्रे गरेको छ भने ५० किलो मिटरभन्दा बढी सडकमा ग्राभेल गरी सडक स्तरोन्नतिको काम गरेको र नगर क्षेत्र भित्रका विभिन्न जिर्ण विद्यालय भवन निर्माणदेखि दर्जन बढी खानेपानीका योजनाहरू सम्पन्न गरेको पनि नगर प्रमुख लामाले बताउनुभयो ।

नगरपालिकाले पुँजीगतर्फको बजेटलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा अधिकतम खर्च गरेको पाइएको छ । आफ्नो चुनावी प्रतिबद्धता अनुसार काम गरिरहेको र आफ्नो कार्यकाल भरिमा आफ्ना चुनावी घोषणा पत्रानुसार काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उदयपुर जिल्लाका आठ पालिकामध्ये पहिलो पटक चौदण्डीगढी नगरपालिकाले आफ्नो मध्यावधि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।