• १० जेठ २०८२, शनिबार

जल विद्युतमा मेकानिकल जनशक्तिमा परनिर्भरता हटाइँदै

blog

मर्स्याङ्दी जल विद्युत केन्द्रको पावर हाउस । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ १० गते ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयले जलविद्युत् आयोजनाको हाइड्रो र इलेक्ट्रो मेकानिकल जनशक्तिमा भारत र चीनको निर्भरता हटाउने कार्य अघि बढाएको छ । यसका लागि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रमा तालिम केन्द्र सञ्चालनको तयारीमा जुटेको  छ ।

निर्माण सम्पन्न भएका तथा निर्माणाधीन आयोजनाहरूको बिग्रिएका उपकारण मर्मत तथा नयाँ उपकरण जडानका लागि जनशक्ति तयार गर्न मेकालिनक तालिम केन्द्र सञ्चालन गर्ने कार्य अघि बढेको मर्स्याङ्दी जल विद्युत केन्द्रका प्रबन्धक इन्जिनियर पशुपतिराज गौतमले जानकारी दिनुभयो ।

जल विद्युत आयोजना निर्माणका लागि धेरै जग्गा चाहिने हुँदा केन्द्रसँग एक हजार सात रोपनीभन्दा धेरै जमिन तथा भवन तथा टहराहरू प्रशस्त भएकाले तालिम केन्द्र सञ्चालन गर्न सकिने प्रस्ताव उर्जा तथा जलस्रोत मन्त्रालयमा पठाइएको गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, ‘‘नेपालको मध्यभाग र सडको पहुँचमा रहेकाले खेर गइरहेको मर्स्याङ्दी जल विद्युत् केन्द्रको जमिनको सदुपयोगको लागि तालिम केन्द्र सञ्चालन गर्न प्रस्ताव पेस गरेका छौं ।’’

तालिम केन्द्र सञ्चालनपछि तीन जनाले रोजगारी पाउने गौतम बताउनुहुन्छ । गौतमका अनुसार दक्ष ६० प्रतिशत तथा अदक्ष ४० प्रतिशतले रोजगारी पाउने छन् । 

तालिम सञ्चालनपछि  भारतीय र चिनियाँ प्राविधिकलाई विस्थापित गर्न सहयोग पुग्ने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार केही मेसिन बिग्रिँदासमेत हप्तौँसम्म चिनियाँ वा भारतीय कम्पनीको टोली पर्खेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्दछ । स्थानीय स्तरमा रोजगारी वृद्धि, मर्मत सम्भारको काम छिटो सम्पन्न गर्न सहज र खेर गएको जमिनको सदुपयोगको लागि मेकालिनक तालिम सञ्चालन आवश्यक रहेको गौतम बताउनुहुन्छ ।