• १० जेठ २०८२, शनिबार

समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य

blog

गृहमन्त्री रमेश लेखकका साथ मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह तथा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी । तस्बिर : लक्ष्मी चौधरी

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, जेठ १० गते । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले मुलुकको समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य रहेको बताउनुभएको छ । शुक्रबार जनकपुरधाममा गृह मन्त्रालय र मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शान्तिसुरक्षाबिना कुनै पनि विकास सम्भव नरहेको प्रस्ट पार्नुभयो । उहाँले शान्तिसुरक्षा अभावमा विकास अवरुद्ध हुने भएकाले शान्तिसुरक्षा कायम गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “विगतको सशस्त्र द्वन्द्वले देशमा कति बाधा पुर्‍यायो भन्ने हामीलाई थाहा छ । त्यसैले अब शान्ति र सुरक्षाबिना देश अगाडि बढ्न सक्दैन । देशलाई समृद्ध बनाउने सपना तब मात्र साकार हुन्छ जब हामीले स्थायी शान्ति र सुरक्षाको वातावरण निर्माण गर्न सक्छौँ ।” 

उहाँले मधेशका सबै जिल्लाको सामाजिक, सांस्कृतिक र भौगोलिक विशेषता मिल्दोजुल्दो रहेको भन्दै यहाँ देखिने सुरक्षा चुनौती पनि समान प्रकृतिका हुने उल्लेख गर्दै समस्या पहिचान गरेर समाधान खोज्नुपर्ने बताउनुभयो । गृहमन्त्री लेखकले भारतसँग जोडिएको खुला सीमाका कारण भइरहेका अपराध, चोरीनिकासी र अन्य गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभयो । उहाँले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने जनप्रतिनिधि र सुरक्षा निकाय दुवैको भूमिकालाई सुदृढ गरे मात्र शान्ति सुनिश्चित हुने धारणा राख्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले न्यून स्रोतसाधनका आधारमा प्रदेश सरकारले सुरक्षा कायम राख्न गरेको प्रयासको चर्चा गर्दै सङ्घीय सरकारलाई यसप्रति गम्भीर ध्यान दिन आग्रह गर्नुभयो । उहाँले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री सिंहले प्रहरी समायोजन प्रक्रिया अझै पूर्ण रूपमा कार्यान्वयनमा नआएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई चाँडो अगाडि बढाउन सङ्घ सरकारलाई आग्रह गर्नुभयो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रहरीका लागि आवश्यक भौतिक पूर्वाधारमा निकै कमी रहेको भए पनि प्रहरीले उच्च मनोबलका साथ गर्दै आएको कामको प्रशंसा गर्नुभयो । उहाँले प्रहरीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि सङ्घ सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपाल भारतको सीमानाका भएर भइरहेको चोरीपैठारी रोक्नका लागि सीमावर्ती क्षेत्रमा कडा सुरक्षा व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो । मधेश प्रदेशका आठ वटै जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको बैठकमा आठ वटै जिल्लाको सुरक्षा अवस्था बारेमा छलफल भएको थियो ।