चौतारा समाचारदाता
चौतारा, जेठ १० गते । नेपाल–चीन सिमानाको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका ठप्प भएको तीन साता भइसकेको छ । बर्खायाम सुरु नहुँदै नाका ठप्प भएपछि व्यापारीमा निराशा थपिँदै गएको छ ।
वैशाख १८ देखि सडक भासिएर बन्द भएको सीमानाकामा फलफूललगायतका सामग्री बिग्रिन थालेका छन् । कतिपय कन्टेनरबाट भने सामान ‘पल्टी’ गरेर ल्याउन थालिएको छ । भन्सारपरिसरमा एक हजारभन्दा बढी विद्युतीय सवारी जाँसपासका लागि थन्क्याइएको छ । कतिपय चीनबाट नेपालतर्फ ल्याइँदै गरेका विद्युतीय सवारीसाधन बाटोमा रोकिएका छन् । खुद्रा सामान तथा रेडिमेड सामग्रीबिच बाटोमै अड्किएका छन् ।
बाह्रबिसे–तातोपानी सडकखण्डका विभिन्न स्थानमा भासिएर अवरुद्ध भएको तीन साता बित्न लागिसक्यो । सडकखण्डको कोप्लाङ भन्ने ठाउँमा सडक भासिँदा तातोपानी नाका ठप्प हुन पुगेको हो । भोटेकोशी गाउँपालिका–२, कोप्लाङमा दैनिक जसो सडक भासिएर अवरुद्ध बनेको नाका जोड्ने कोदारी राजमार्ग सञ्चालनको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन ।
यातायात अवरुद्ध हुँदा करोडौँ मूल्यका सामग्री बोकेका सयौँ कन्टेनर लिपिङ बजार क्षेत्रमा रोकिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले बताउनुभयो । अवरुद्ध सडक सञ्चालन गर्न स्थानीय तह, व्यापारी तथा कन्टेनर आफैँ सक्रिय भएर सडक मर्मत गरे पनि नियमित सञ्चालनमा ल्याउन नसकिएको घिमिरेले जानकारी दिनुभयो । “भासिएको सडक दिनभर लगाएर बनायो, भोलिपल्ट फेरि भासिइहाल्छ,” उहाँले भन्नुभयो ।
सडकमार्ग अवरुद्ध भएपछि स्थानीय तह, व्यवसायी, ढुवानीकर्ता सबै जुटेर काम गरिरहेको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । बर्खायाम सुरु नहुँदै सडकमा समस्या आएपछि व्यवसायीलाई समस्या परिरहेको उनीहरूको गुनासो छ । पाँच किलोमिटर बाटो स्तरीय बनाइदिने हो भने नेपाल–चीन सीमानाका तातोपानीसम्मको सडक दिगो हुने हिमालयन सीमापार वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष घिमिरेले बताउनुभयो ।