• १० जेठ २०८२, शनिबार

असी प्रतिशत भौतिक संरचना जोखिममा

blog

बैतडी समाचारदाता  

बैतडी, जेठ १० गते  । बैतडी सदरमुकाम खलङ्गा क्षेत्रमा शुक्रबार राति १:४८ बजे गएको ५.१ रेक्टर स्केलको भूकम्पपछि विभिन्न १० वटा परकम्प गएका छन् । भूकम्पपछि ३.७ रेक्टर स्केलको एउटा र त्यसपछि १० वटा साना परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको पहिलो धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति भएको छैन । 

भूकम्प मापन केन्द्र सुर्खेत कार्यालयका प्रुमख चिन्तन तिमिल्सिनाका अनुसार ५.१ रेक्टर स्केलको भूकम्प गएको २० मिनेटपछि ३.७ रेक्टर स्केलको दोस्रो र त्यसपछि १० वटा साना परकम्प गएका हुन् । उहाँका अनुसार बैतडीसहित पश्चिम नेपालमा भूकम्पको जोखिम कायमै रहेकाले भौतिक संरचना भूकम्पप्रतिरोधी बनाउन आवश्यक देखिएको छ । 

भूकम्पपछि बैतडी सदरमुकाम आसपासका भौतिक संचरनाको स्थलगत निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । प्रजिअ उपाध्यायले पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको कुरा विभिन्न अध्ययनबाट सार्वजनिक भएकाले जनचेतना र भूकम्पप्रतिरोधी भौतिक संचरना निर्माण हुन जरुरी देखिएको बताउनुभयो । 

भूकम्प दिवसमा मात्रै जोखिमको चर्चा  

बैतडी सदरमुकामको मुख्य बजार गोठालापानीदेखि शाहीलेक हुँदै गढीसम्म करिब एक हजारभन्दा बढी पक्की घर विभिन्न समयमा निर्माण भए पनि ८० प्रतिशत घर नक्सा पास नगरी निर्माण भएका छन् । विभिन्न अध्ययन र शुक्रबार राति गएको भूकम्पले बैतडी सदरमुकाम उच्च जोखिममा रहेको पुष्टि गरेको छ । भौतिक संचरनाका हिसाबले बैतडीलगायत सुदूरपश्चिमका अन्य जिल्लाको भौतिक संचरना मझौला खालको भूकम्प थेग्न सक्ने खालका नभएको भूकम्प मापन केन्द्र सुर्खेत कार्यालयका प्रुमख चिन्तन तिमिल्सिनाले बताउनुभयो । भूकम्प आयो भने बैतडी सदरमुकाम गोठापानी बजारमा भाग्ने ठाउँसमेत छैन । नगरपालिकाले नयाँ घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्न भने पनि आफूखुसी घर बनाउने प्रचलन छ । जिल्लामा भूकम्प दिवसका दिन मात्रै जोखिमको चर्चा हुने गरेको छ । व्यवहारतः भूकम्पप्रतिरोधी घर बन्न सकेका छैनन् ।  २०७२ सालको भूकम्पपछि दशरथ चन्द नगरपालिकाले अनिवार्य घरको नक्सा पास गराएर मात्रै नयाँ भवन निर्माण गर्ने नीति सार्वजनिक गरे पनि कार्यान्वयन हुन सकेको छैन ।