मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), जेठ १० गते । मुस्ताङमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक तथा शोषणरहित बनाउन ‘सामी’ परियोजनालाई प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन मुस्ताङमा रहेका आप्रवासी स्रोत केन्द्रले समुदायस्तरदेखि राहदानी बनाउन आउनेलाई वैदेशिक रोजगारीसम्बन्धी जानकारी दिने गरेको हो ।
गत वर्षको असोज महिनादेखि मुस्ताङमा लागु भएको सामी परियोजनाबाट हालसम्म वैदेशिक रोजगारीमा जाने २४९ जनालाई सुरक्षित वैदेशिक रोजगार परामर्श, सिप र भाषा नसिकी, सूचना र जानकारी नलिई वैदेशिक रोजगारीमा जाँदा हुने समस्या, आश्वासनबाट ठगिने जोखिम, कानुनी सेवालगायत विविध विषयमा जानकारी गराइएको मुस्ताङ संयोजक दिपीका थकालीले बताउनुभयो ।
थकाली भन्नुहुन्छ, “रोजगारीपछि स्वदेश फर्केकाका लागि सामाजिक पुनस्र्थपना कार्यक्रमका बारेमा समेत जानकारी दिन्छौँ, सिप सिकेर नजाँदा दुःख पाएका उदाहरण पनि सुनाउँछौँ ।” परियोजना अन्तर्गत मासिक १३ जनादेखि ७० जना वैदेशिक रोजगारीमा जान राहदानी बनाउन आउनेलाई सचेतनामूलक जानकारी दिइएको संयोजक थकालीको भनाइ छ । परियोजनाले जिल्लाका सुरक्षा निकायसँग वैदेशिक रोजगारीमा लैजाने बहानामा ठगी गर्ने, वैदेशिक रोजगारीमै दुर्घटनामा ज्यान गुमाउने, घाइतेको उद्धारसहित विभिन्न विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङमा सुरक्षित आप्रवासन परियोजनालाई घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने गरी प्रभावकारी बनाइने बताउनुभयो । प्रजिअ भुसालले वैदेशिक रोजगारीमा जाने अभिभावकलाई समेत विद्यार्थीमार्फत सन्देश प्रवाह गर्ने गरी विद्यालयमा समेत अभियानले जोड्नुपर्ने बताउनुभयो । परियोजनाले वडासम्म पुगेर समुदायसँग सचेतनामूलक अभियान सञ्चालन गर्ने भएको छ ।