• १० जेठ २०८२, शनिबार

सिप मेलामा साढे तीन हजारको आवेदन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ १० गते । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको सिप मेलामा तीन हजार पाँच सय जनाभन्दा बढीको आवेदन परेको जनाएको छ । महानगरपालिकाका अनुसार ३० दिनसम्म सञ्चालन हुने सिप मेलामा विभिन्न १० देशका ४२ पेसासँग सम्बन्धित तालिमका लागि तीन हजार ५७६ जनाको अनलाइन आवेदन परेको हो । दोस्रो चरणको सिप मेला गएको बुधबारदेखि सञ्चालन भएको हो । 

महानगरपालिकाका अनुसार महानगरले सिप मेलाका लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँच वटा पेसामा थप गरेर १२ वटा बनाइएको छ । थपिएकामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स डिजाइन रहेका महानगरपालिकाले जनाएको छ । 

यस क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृत्रिम बौद्धिकता (एआई) र यसको प्रयोग (एआइ एन्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम गर्ने तयारी थियो । यस्तै ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेसा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी चार पेसा राखिएका थिए ।

महानगरपालिका अन्तर्गतको सिप मेला सञ्चालन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाका अनुसार यसअघि तयारी गरिएका १० क्षेत्रका ३४ पेसासँग सम्बन्धित तालिममा क्षेत्र थपिएका छैनन् ।   महानगरले सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो ।