गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १० गते । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई राष्ट्रिय प्राथमिकताका विषयमा रणनीतिक योजनासहित काम गर्न सुझाव दिएको छ । चेम्बरका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राको नेतृत्वमा शुक्रबार गएको टोलीले नवनियुक्त गभर्नर पौडेललाई भेटेर बधाई एवं शुभकामनासहित सुझाव दिएको हो ।
राष्ट्र बैङ्कको गभर्नर नियुक्तिले वित्तीय क्षेत्रमा दीर्घकालीन सुधार र स्थायित्व कायम गर्नेतर्फको एक महत्वपूर्ण कदमका रूपमा लिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुलुकको समग्र आर्थिक विकास, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति सुदृढीकरण, वित्तीय पहुँचको विस्तार तथा वित्तीय समावेशिता जस्ता राष्ट्रिय प्राथमिकताका विषयमा रणनीतिक योजनासहित काम गर्न चेम्बरले गभर्नर डा. पौडेललाई सुझाव दिएको हो ।
चेम्बरका कार्यवाहक अध्यक्ष मल्होत्राले मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन नवनियुक्त गभर्नर डा. पौडेलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अर्थतन्त्र चलायमान गराउने चुनौती कायमै रहेको सन्र्दभमा आगामी बजेट र मौद्रिक नीतिबिचको तालमेलमार्फत अर्थतन्त्रलाई निकासा दिनुपर्ने मल्होत्राको भनाइ छ ।
राष्ट्र बैङ्कले डिजिटल वित्तीय प्रणालीको प्रवर्धन, सूक्ष्म, साना तथा मझौला उद्यमको वित्तीय पहुँचमा सुधार तथा समावेशी वित्तीय नीतिको विकासमा अग्रगामी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको चेम्बरले उल्लेख गरेको छ ।