• ८ जेठ २०८२, बिहिबार

सत्ताइस वर्षपछि कालोपत्रे हुँदै

blog

मनहरी–८, सिमपानीबाट देवकोट पुग्ने सडकखण्ड कालोपत्रे गरिँदै ।

मनहरी समाचारदाता

मनहरी, जेठ ८ गते  । पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरी बजार हुँदै ग्रामीण क्षेत्रमा पुग्ने सडक निर्माण थालिएको २७ वर्षपछि कालोपत्रे सुरु भएको छ । 

मनहरी गाउँपालिका–८, सिमपानी–देवकोट हुँदै राक्सिराङ गाउँपालिका–३ जोड्ने सडकलाई पक्की बनाउन थालिएको हो । यो सडकको पहिलो ट्र्याक २०५५ सालमा खन्न सुरु गरिएको थियो । ढिलै भएपछि बागमती प्रदेश सरकारले बहुवर्षीय ठेक्का लगाएर सडकको हैसियत सुधार गरी कालोपत्रे गर्न थालेपछि पश्चिम मकवानपुरका दर्जनौँ गाउँका बासिन्दा लाभान्वित हुने भएका छन् । 

तत्कालीन बागमती प्रदेश सरकारले अघि सारेको पुष्पलाल प्रदेश चव्रmपथ सडक आयोजना अन्तर्गत मकवानपुरको मनहरी र धादिङको आदम खण्ड अन्तर्गत छ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे गरिएको हो । सोही सडक अन्तर्गत धादिङतर्फ पनि सडकको हैसियत सुधार गरी कालोपत्रे गर्ने कार्य भइरहेको बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय हेटौँडाले जनाएको छ । 

मनहरी–आदमघाट खण्डको सडक क्षेत्र हेरिरहनुभएको पूर्वाधार विकास कार्यालय हेटौँडाका इन्जिनियर नीरज महतका अनुसार मनहरी गाउँपालिका–८, सिमपानीबाट देवकोटगाउँ हुँदै राक्सिराङ गाउँपालिकाको सीमा क्षेत्रमा सात किलोमिटर सडकखण्ड चालू आर्थिक वर्षको असार मसान्तसम्ममा पूर्ण रूपमा निर्माण सम्पन्न हुने छ । कुल छ किलोमिटर लम्बाइ र न्यूनतम ६.२५ मिटर चौडा सडक निर्माण भइरहँदा यसअघि नै बनेका बिचभागमा रहेका स्ल्याब ढलानका कारण बाटो पूर्ण सम्पन्न हुँदा सात किलोमिटर लम्बाइ पुग्ने छ । कुल १८ करोड ३८ लाख रुपियाँ लागतमा रमन–पिआर–निरिक्षा जेभी ललितपुरले ठेक्का सम्झौता गरेको यो सडकखण्डको कालोपत्रेको कामका लागि २९ लाख ५५ लाखको लागत अनुमान गरिएको थियो तर ठेकेदारले १८ करोड ३८ लाख रुपियाँमै ठेक्का सकार गरेर २०७८ साल चैत २३ देखि निरन्तर काम गरिरहेको छ । 

यो सडक निर्माणसँगै पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–१, २, ३ ४, ५, ८ र ९ तथा कैलाश गाउँपालिका–२, ३, ४, ७ र ८ सहित धादिङ जिल्लाका बासिन्दा लाभान्वित हुने छन् । प्रदेश सरकारको अवधारणाबमोजिम पुष्पलाल प्रदेश चव्रmपथ सडक आयोजना सम्पन्न भइसक्दा मनहरी बजारबाट धादिङको आदमघाट बजारमा बढीमा साढे दुई घण्टा यात्रामा पुग्ने गरी सहज सडक निर्माण हुने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ । 

‘यो बाटो सम्पन्न हुनासाथ काठमाडौँ जाने छोटो बाटोका रूपमा यसले सफलता पाउने र पृथ्वी राजमार्गको लामो यात्राबाट पूर्वतर्फबाट आउने यात्रीले सुविधा पाउने छन्,” अध्यक्ष मल्लले भन्नुभयो । यो सडक निर्माण सम्पन्न सहज यातायात पहुँच बढ्ने हुँदा पश्चिम मकवानपुरका ग्रामीण क्षेत्रमा हुँदै आएको अवैध गाँजा खेतीमा आबद्ध किसान पनि तरकारी तथा फलफूल खेतीसहित कृषिकर्ममा लाग्ने अपेक्षा गरिएको छ ।