• १८ जेठ २०८२, आइतबार

एकीकृत समाजवादीको जिल्ला अधिवेशन

blog

जिल्ला अधिवेशनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ७ गते। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ताप्लेजुङको ११ औं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। एकीकृत समाजवादीको यही जेठ ९ र १० गते हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो।

सदरमुकाम फुङ्लिङमा बुधबार नेकपा (एस) ले पत्रकार सम्मेलन गरी जिल्ला अधिवेशनको तयारीबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा जिल्ला अधिवेशनको तयारी करिव अन्तिम चरणमा पुगेको एकीकृत समाजवादीका जिल्ला सचिव मोहन न्यौपानेले जानकारी दिनुभयो। 

फुङ्लिङ नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्षसमेत रहनुभएका न्यौपानेले जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लागिसकेको बताउनुभयो। उहाँका अनुसार वर्तमान जिल्ला कमिटी अर्थात अधिवेशन आयोजक कमिटी र पार्टी सदस्य सङ्ख्याको आधारमा चयन भएकासमेत गरी करिव २५० जना प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुने छन्।

अधिवेशनमा सहभागी हुने प्रतिनिधिले नयाँ जिल्ला कमिटी चयन गर्ने एकीकृत समाजवादीका कार्यबाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद सिरेङ चोङ्बाङले बताउनुभयो। मेरिङ्देन गाउँपालिकाका उपाध्यक्षसमेत रहनुभएका चोङ्बाङका अनुसार जिल्ला अधिवेशनको उद्घाटनमा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र उपमहासचिव राजेन्द्रकुमार राईको उपस्थिति रहने छ। 

यता जिल्ला समन्वय समितिका प्रमुखसमेत रहनुभएका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामा प्रदेश कमिटीको पदाधिकारी निर्वाचित हुनुभएकाले भावी अध्यक्षमा एकभन्दा बढीले आकाङ्क्षा देखाउनुभएको बताइएको छ। कार्यबाहक अध्यक्ष चोङ्बाङ, सचिव न्यौपाने, जिल्ला नेता रामचन्द्र पोमु लगायतको नाम जिल्ला अध्यक्षका लागि चर्चामा रहेको छ। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य खेमबहादुर वनेम, नेताकुमारी सिवा लगायतको उपस्थिति रहेको थियो।