• १८ जेठ २०८२, आइतबार

कम बेरुजु भएकोमा कालिका नगरपालिका सूचीकृत

blog

कालिका नगरपालिकाको कार्यालय । तस्बिर :शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, जेठ ७ गते ।
चितवनका सात वटा स्थानीय तहमध्ये कालिका नगरपालिका सबैभन्दा कम अधावधिक बेरूजु कायम भएको छ ।  यस पालिका हाल नेपालका ७५३ स्थानीय तहमध्ये सबैभन्दा कम बेरूजु भएको शीर्ष १० पालिका भित्र सूचीकृत भएको छ ।

२०७१ सालमा नगरपालिका स्थापना भएसँगै आर्थिक वर्ष २०७९/०८० सम्म कालिका नगरपालिकाको कुल बेरूजु २० करोड रुपियाँ भएकोमा हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसँगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरू गरिएको छ ।

लेखा समितिका संयोजक टीकाराम रेग्मीका अनुसार विभिन्न असुल गर्नुपर्ने बेरुजु रकम असुल गरी नगरपालिकाको खातामा जम्मा गरिएको छ । पेश्की रकम फर्छाैट गरेको तथा नगरपालिकाले आवश्यक विभिन्न कानुन तथा कार्यविधि निर्माण गरेको थियो । १५ करोड ६६ लाख बेरुजु फर्छौट गरी महालेखा परीक्षक कार्यालयको २०८१ सालमा प्रकाशित (२०७९/०८०) तथ्याङ्क अनुसार हाल चार करोड ३३ लाख ४४ हजार बेरुजु कायम भएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको रेग्मीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० सम्मको महालेखा परिक्षकको प्रतिवेदनमा देखाइएको तथ्याङ्क अनुसार कालिका नगरपालिकाको हाल चार करोड ३३ लाख ४४ हजार बेरुजु बाँकी छ । जुन चितवन जिल्लामा सबैभन्दा कम हो । इच्छाकामना गाउँपालिकाको १० करोड ८० लाख ६४ हजार दोस्रो, खैरहनी नगरपालिकाको ११ करोड ८४ लाख ९२ हजार तेस्रो, रत्ननगर नगरपालिकाको १६ करोड १८ लाख ८९ हजार चौथो, राप्ती नगरपालिकाको १९ करोड २९ लाख ९४ हजार पाँचौ, माडी नगरपालिकाको ४६ करोड १५ हजार छैठौं र भरतपुर महानगरपालिकाको ९३ करोड ५० लाख २९ हजार सबैभन्दा धेरै कुल बेरुजु बाँकी रहेकाले सातौं स्थानमा छ ।

कालिकाका नगर प्रमुख विनोद रेग्मीले जिल्लाकै सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । आउदा दिनमा बेरुजु सुन्यमा झार्ने गरी काम गर्ने बताउनुभयो । नगरपालिको सम्पूर्ण पक्षमा साना साना सुधार गरिरहेको र कानुनको पालना गरेकोले सुधार भएको जानकारी दिनुभयो । कालिका नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालका अनुसार नगरपालिकाले बजेट तर्जुमा गर्दा र खर्च गर्दा नेपाल सरकारको सम्पूर्ण कानुनहरू पालना गरेको बताउनुभयो । 

नगरपालिकाले आफैले बनाउनु पर्ने कानुन, कार्यविधिहरू र मापदण्डहरू बनाएकाले बेरुजु न्यूनीकरण सम्भव भएको हो ।