• ८ जेठ २०८२, बिहिबार

ढिलो कार्यालय पुग्ने कर्मचारीलाई प्रवेशमा रोक

blog

पालिका उपाध्यक्ष निर्मला रोकायले तालाबन्दी गरेपछि बाहिर बसेका कर्मचारी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ७ गते। बाँकेको बैजनाथ गाउँपालिकाका कर्मचारीलाई पटक–पटक दिएको निर्देशनलाई अटेरी गरेर कार्यालयमा ढिलो उपस्थित हुन थालेपछि बुधबार गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पालिकाको कार्यालयको मूल गेटमा ताला लगाउनुभयो।

उहाँले कर्मचारीले समयमा कार्यालयमा नआउने र अनुशासन पालना नगर्ने प्रवृत्तिका कारण आफूले बुधबार कार्यालयमा ताला लगाउन बाध्य भएको बताउनुभयो।

बुधबार बिहान १०: १७ बजेसम्म कर्मचारीलाई पर्खिदा पनि नआएपछि मुलढोकाको च्यानल गेटमा ताला लगाएको उपाध्यक्ष रोकायले बताउनुभयो। उहाँले आफूले तालाबन्दी गर्दा कार्यालयको कुनै पनि शाखा प्रमुख तथा कर्मचारी नआएको जनाउनुभयो।

तालाबन्दीका कारण करिब पौने चार घण्टासम्म बाहिर बसेका कर्मचारीले अब समयमै कार्यालयमा आउने प्रतिबद्धता जनाएपछि दिउँसो २ बजे आफै ताला खोलेको उपाध्यक्ष रोकायले बताउनुभयो।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले आफू तालिममा रहेकाले कार्यालयमा तालाबन्दी भएको भन्ने कुरा सुनेको जनाउँदै समयमा कर्मचारीहरू कार्यालयमा आउनुपर्ने बताउनुभयो।