काठमाडौँ, जेठ ७ गते । हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा शीर्ष स्थानको हाउन्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित निकालेका छन् ।
कीर्तिपुर कभर्डहलमा जारी प्रतियोगितामा हाउन्ड्सले विजय बुर्जाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०–६९ ले हरायो । सुरुवातदेखि लिएको अग्रता नै हाउन्ड्सको जितमा निर्णायक बन्यो ।
हाउन्ड्सले पहिलो क्वाटरमा २५–२३ को अग्रता लिएको थियो । दोस्रो क्वाटर २१–९ र तेस्रो क्वाटर २०–११ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटरअघि हाउन्ड्सले ६८–४३ को फराकिलो अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २५–१४ ले आफ्नो पक्षमा पारे पनि हाउन्ड्सले जित हात पारेको हो ।
हाउन्ड्सको जित विजय बुर्जा एक्लैले सर्वाधिक ३४ स्कोर गर्नुभयो । बुर्जा मोस्ट भ्यालुएबल प्लेअर पनि घोषित हुनुभयो । कीर्तिपुरका निश्चल महर्जनले २३ स्कोर गर्नुभयो ।
हाउन्ड्स चौथोसँगै पाँच खेलबाट नौ अङ्कसहित शीर्षस्थानमा छ । तेस्रो हार खेपेको कीर्तिपुरको समान खेलबाट सात अङ्क छ । यस्तै अर्को खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ८४–६९ ले हराउँदै लिगमा तेस्रो जित निकालेको छ ।
टाइम्सका मनिष केसीले २० स्कोर गर्नुभयो । उहाँ मोस्ट भ्यालुएबल प्लेअर पनि घोषित हुनुभयो । यस्तै सामाखुशीका विक्रम डङ्गोलले पनि २० नै स्कोर गर्नुभयो । जितसँगै आठ अङ्क बनाएको टाइम्स दोस्रो स्थानमा उक्लिएको छ । लगातार पाँचौँ हार खेपेको सामाखुशी अन्तिममा छ ।