ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ७ गते । अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा जाने मौरिस हर्जोग पदमार्गमा पहिलोपटक म्याराथन दौड प्रतियोगिता हुने भएको छ । आधार शिविरमा रहेको पञ्चकुण्ड तालदेखि नारच्याङ गाउँसम्म म्याराथन प्रतियोगिता आयोजना हुने भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा आधार शिविरदेखि नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
गाउँपालिकाले आगामी जुन ३ अर्थात जेठ २० गते अन्नपूर्ण हीरक महोत्सवको आयोजना गर्न लागेको छ । नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।
चार हजार एक सय मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरदेखि नारच्याङसम्म मौरिस हर्जोग पदमार्गको ३० किलोमिटर दूरीमा म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको स्थानीय आयोजक संस्था अन्नपूर्ण पर्यटन महोत्सवका सचिव चित्र तिलिजाले बताउनुभयो ।
उहाँका अनुसार म्याराथन दौड प्रतियोगितामा जिल्ला भित्रका स्थानीय तहबाट मात्र सहभागी हु्न पाउने छन् । अन्नपूर्ण गाउँपालिका भित्र रहेका प्रत्येक वडाबाट पाँच/पाँच जना र अन्य स्थानीय तहबाट दुई÷दुईजनाका दरले सहभागी हुने छन् ।
अन्नपूर्ण आरोहण गरेको दिन जेठ २० गते बिहान ९ बजेदेखि आधार शिविरबाट म्याराथन दौड प्रतियोगिता सुरु हुने म्याराथन दौड प्रतियोगिताका व्यवस्थापन संयोजक इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार आधार शिविरबाट सुरु भएको दौड भुस्केटमेला, गुफाफाँट, फुतफुते झरना, हुमखोला, छोटेपा हुँदै नारच्याङ गाउँ आएर समापन हुने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय ३० हजार र तृतीयलाई २० हजार रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने म्याराथन प्रतियोगिता व्यवस्थापन संयोजक इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
यही जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना हुने भएको छ । महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीबाट जेठ २० गते बिहान ९ बजे आधार शिविरमा राखिएका अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको शालिक अनावरण र आधार शिविरमा निर्माण गरिएको खुला सङ्ग्रहालय तथा मौरिस हर्जोग पदमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको हो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।