अविनाश चौधरी
धनगढी, जेठ ७ गते । प्रसव पीडाकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवा सम्मानसहित पुरस्कृत हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उहाँलाई बुधबार पुरस्कृत गरेको हो । अस्थायी प्रहरी पोस्ट खैरानामा कार्यरत प्रहरी जवान देउवाले मङ्गलबार गोदावरी नगरपालिका–१ चैतन्यपुरस्थित गुहेश्वरी टोलको सडकमा प्रसव पीडाले छटपटाइ रहेकी बेवारिसे महिलाको सुरक्षित रूपमा सुत्केरी गराएर महिला र शिशुको ज्यान बचाउने काम गर्नुभएको थियो ।
प्रहरीलाई खबर आएपछि आफ्नो बच्चालाई खाना खुवाउँदा खुवाउँदै छोडेर महिलाको उद्धारका लागि गएको प्रहरी जवान देउवाले बताउनुभयो । “खबर आएपछि बच्चालाई खाना खुवाउन रोकेर बर्दी लगाएँ र घटनास्थलमा हिडेँ”, उहाँले भन्नुभयो, “म पुग्दा महिला बेहोस थिइन । करिब दुई सय जति मान्छे जम्मा भएर हेरिरहेका थिए । मैले महिलाको नाम सोँधे तर बोल्न सक्नु भएन । छटपटाइ रहनु भएको थियो । अनि, दिदी म जसरी पनि तपाईं र तपाईंको बच्चाको ज्यान बचाउँछु भनेर सुत्केरी गराउने कार्यमा लागे ।”
स्थानीयको सहयोगमा एक घरको आँगनमा सुत्केरी गराएको जवान देउवाको भनाइ छ । “मलाई त सालनाल कसरी काट्ने भन्ने पनि थाहा थिएन । स्थानीयले ब्लेड ल्याइ दिएपछि उनीहरूको सहयोगमा सालनाल काटेँ ।” सुत्केरी महिलाको नाम, ठेगाना केही खुलेको छैन । प्रहरी जवान देउवाले सुत्केरी गराइ सकेपछि बच्चा र आमालाई उपचारका लागि पदमा अस्पताल भर्ना गरिएको छ । दुवैको स्वास्थ्यावस्था राम्रो रहेको प्रहरी जवान देउवाले बताउनुभयो ।
सुत्केरी गराउने सन्दर्भमा न कुनै तालिम लिनु भएकी न त पर्याप्त ज्ञान भएकी जवान देउवाले उच्च मानवीयता प्रदर्शन गरेर नेपाल प्रहरीको इज्जत बढाउने काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । राम्रो काम गर्ने सबै प्रहरीलाई पुरस्कृत गर्ने प्रहरी उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । उहाँले प्रहरी जवान देउवाले साहसिक काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।