भक्तपुर, जेठ ६ गते । नब्बे सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका-४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण भएको छ । उक्त मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आज उदघाटन गर्नुभयो ।
विक्रम संवत् १९९० को महाभूकम्पमा मन्दिर भत्किएपछि जस्ताले छाएर सानो मन्दिरका रुपमा रहँदै आएको थियो । मन्दिरका विषयमा लामो अनुसन्धानपछि प्यागोडाशैलीमा तीन तलाको मन्दिर निर्माण गरिएको हो । वि.सं.२०७६ सालमा मन्दिरको पुनःनिर्माण सुरु गरिएको थियो । उदघाटन कार्यक्रममा बिजुक्छेँले भन्नुभयो, “नरसिंह शक्तिको प्रतीक हो, लक्ष्मीसहितको नरसिंहले सन्तुलनको प्रतीक दर्शाउने गर्छ । शक्तिको आडमा मात्र विजय हासिल हुने कुरा सत्य होइन भन्ने सन्देश यहाँबाट पाइन्छ ।”
कला संस्कृति संरक्षण र संवद्र्धन आफैँमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले उपभोक्ता समितिमार्फत मन्दिर पुनःनिर्माणमा खटिएकै कारण निर्माण सम्भव भएको बताउनुभयो । सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुन आवश्यक भएको बताउँदै भक्तपुरका जनताबिचको एकता तथा आपसी सहयोगको भावना नै भक्तपुरको विशेषता बन्दै गइरहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मल्लकालीन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि भक्तपुर नगरपालिकाले सात करोड ७७ लाख लगत अनुमान गरेकामा उपभोक्ता समितिमार्फत चार करोड ८३ लाख चार हजार ३८ मा पुनःनिर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । नगरपालिकाका उपप्रमुख रजनी जोशीले इतिहासको गर्भमा लुप्त अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण हुनुले भक्तपुरवासीकै गौरव बढाएको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपालमा हरेक १०० वर्षमा ठूल्ठूला भूकम्प जाने गरेको तथ्यांक प्रस्तुत गर्दै सम्पदाहरुको समय सापेक्ष ढङ्गले जीर्णोद्धार र मर्मतसम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । इतिहासविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठले मौलिक स्वरुप गुमाइसकेको मन्दिरले पुनःजीवन पाउनु ठूलो उपलब्धि भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वपः इन्जिनियरिङ कलेजका प्राचार्य ई सुजन माक, लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बिजुक्छेँले मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । मन्दिर उदघाटनपूर्व भक्तपुर दरबार क्षेत्रबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरसम्म र्याली भएको थियो । रासस