• २ जेठ २०८२, शुक्रबार

पत्रकारितामा नैतिक प्रतिबद्धता

blog

लोकतन्त्रलाई जगैदेखि बलियो बनाएर समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्ने हो भने अन्य क्षेत्रमा जस्तै पत्रकारिताका क्षेत्रमा पनि स्वतन्त्र मात्र होइन, उत्तरदायी समृद्ध पत्रकारिता आवश्यक हुन्छ ।

नेपालमा पत्रकार आचारसंहिताका विषयमा निकै गम्भीर हुनुपर्ने अवस्था हिजो पनि थियो, आज पनि छ । नेपालबाट प्रकाशित हुने ‘ब्रोडसिट’, ‘ट्याबलोइड’, ‘म्यागेजिन’ र अरू अनलाइन र ‘सोसल मिडिया’ लाई हेर्ने हो भने अधिकांशमा आचारसंहिताको खिल्ली उडाएको देखिन्छ । स्रोत नै उल्लेख नगरी हावाका भरमा समाचार भनेर प्रकाशन प्रसारण गरिदिँदा त्यसले निम्त्याउन सक्ने भयावह अवस्था सहजै आँकलन गर्न सकिन्छ । नेपालमा आमसञ्चार माध्यमको तीव्र विकाससँगै पत्रकारिताको अभ्यास पनि दिन दोगुणा रात चौगुणा रूपमा फैलिँदै गएको छ । पत्रकारिता लोकतन्त्रको एक सबल आधारस्तम्भ हो भन्ने कुरामा दुई मत हुँदैन । लोकतन्त्रको बलियो आधार मानिँदै आएको भए पनि पत्रकारिताको प्रभावकारिता आमसञ्चार माध्यममा काम गर्ने पत्रकारले कतिको आचारसंहिताको परिपालना गरेका छन् भन्ने कुरामाथि निर्भर हुन्छ । 

पत्रकार आचारसंहिता तयार पारेर लागु गर्ने आधिकारिक संस्था प्रेस काउन्सिल नेपाल हो, जसले पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घसित सहकार्य गरेर मुलुकको पत्रकारितालाई विश्वसनीय, भरपर्दो र दिगो बनाउनका लागि आचारसंहिता तयार पारी त्यसको परिपालना गराउने काममा महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रेस काउन्सिलले एकाङ्की रूपमा नगरेर पत्रकार महासङ्घको संलग्नताले गर्दा यसले निर्माण गरेर लागु गरेको पत्रकार आचारसंहिता पत्रकारहरू आफैँले निर्माण गरेको भन्न सकिने भए पनि व्यावहारिक रूपमा आचारसंहिताको परिपालनामा थुप्रै चुनौती देखापरिरहेका छन् । 

हाम्रो पत्रकार आचारसंहिताले निष्पक्षता, वस्तुनिष्ठता, सूचनाको सत्यता, स्रोतको गोपनीयता, निजी जीवनको सम्मान, आपसी विश्वास, सूचनाको हकको रक्षा, उच्च व्यावसायिक अभ्यास, मानवीय त्रुटिका रूपमा कुनै सामग्री पस्कँदा गल्ती भइहाले छ भने त्यस्तो गल्ती सच्याउने तत्परता, मानव अधिकारको सदैव रक्षा, प्रेस स्वतन्त्रताको रक्षा, सामाजिक सदभाव कायम गराउन सदा तत्पर हुने जस्ता मूल्यमान्यतालाई समेटेको हुँदा पेसागत पत्रकारिताका लागि यी आचारसंहिताका बुँदा मेरुदण्ड नै हो भन्दा अत्युक्ति नहोला । खास गरी अनलाइन तथा डिजिटल माध्यमको व्यापक विकास र विस्तार अनि सामाजिक सञ्जालको विकासमा आएको बाढीले पत्रकार आचारसंहिताको परिपालन निकै कमजोर देखिएको छ । मुलुकको विकासमा योगदान गर्ने खालको पत्रकारिताको आवश्यकता आजको खाँचोका रूपमा रहेको छ । यस्तै पुष्टि नै नभएका गलत सूचनाहरू कागले कान लग्यो भन्दा कान नछामी कागका पछि दगुर्ने प्रवृत्तिले गर्दा धन्य अनुजा बानियाँ र रसेन्द्र भट्टराईका जस्ता उडन्ते हल्लालाई समाचार बनाउने प्रवृत्तिमा कमी आउन सकेको छैन । पहिले प्रकाशन प्रसारण गरिहालौँ अनि पछि हेरौँला भन्ने जस्तो प्रवृत्ति मौलाउँदा आज प्रकाशन प्रसारण गरेर भरे खण्डन र क्षमा याचना गर्नुपर्ने अवस्था आउँदा पत्रकारिता क्षेत्रकै निदारमा आज कलङ्कको कालो टिको लागेको छ । 

आमसञ्चार माध्यममा विज्ञापनको महìव सर्वोपरि छ । विज्ञापनबाट प्राप्त हुने आम्दानीले नै सञ्चार माध्यमको चुलो तातेको हुन्छ । विज्ञापन दाता र पत्रकारबिचको अनैतिक साँठगाँठले गर्दा कतिपय विज्ञापन पनि समाचारका रूपमा प्रकाशन प्रसारण गरिनु आमपाठकप्रति र सम्बन्धित सञ्चार माध्यममाथिको गद्दारी हो । बुझेर पनि बुझ पचाएका कारणले बेला बेला पत्रकारले नै आलोचना खेप्नु परेको छ । यस्तै कतिपय आमसञ्चार माध्यममा कुनै व्यक्तिले आफ्नो निहित स्वार्थ सिद्ध गर्ने ध्येयले मोटो रकम बुझाएर समाचार प्रकाशन प्रसारण गर्न लगाउने गरेको देखिन्छ । त्यसबाट पाठक दर्शकहरू सत्य तथ्य, सन्तुलित समाचारबाट वञ्चित हुन पुग्छन् । पेड न्युजको प्रवृत्ति ब्रोडसिटदेखि टेबलोइड र विद्युतीय माध्यममा पनि देखिँदै गएको धब्बा हो, यसलाई निस्तेज गर्न सबै तह र तप्का लाग्नु पर्छ । 

आमसञ्चार माध्यममध्ये अधिकांश आन्तरिक सम्पादकीय नीति, आचारसंहिताको कार्यान्वयन र स्वनियमन जस्ता कुरामा कमजोर देखिएका छन् । यसमा समयानुकूल सुधारका लागि सञ्चार माध्यमका प्रकाशक र सम्पादक तथा पत्रकारलाई समय समयमा तालिम र कार्यशाला गोष्ठीको आयोजना गर्नुपर्ने देखिन्छ । पत्रकारहरू यो वा त्यो कुनै पनि राजनीतिक आस्थामा विभाजित भइदिँदा उनीहरूले काम गर्ने आमसञ्चार माध्यमको निष्पक्षतामाथि नै प्रश्नचिह्न लाग्ने खतरा पैदा हुन्छ । नेपालका ग्रामीण क्षेत्रमा वा मोफसलमा बसेर पत्रकारिता गर्ने पत्रकारमा आचारसंहितासम्बन्धी जानकारी र प्रशिक्षणको अभाव छ, यसलाई बेला बेला सम्बोधन गर्न सकियो भने सुधारको अपेक्षा गर्न सकिन्छ । 

प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यममा भएका आचारसंहिता उल्लङ्घनका उजुरीहरू हेर्ने, आचारसंहिता उल्लङ्घन भएको ठहरेमा चेतावनी दिने, नियमित अनुगमन गर्ने जस्ता काम गर्छ । प्रेस काउन्सिल नेपालको सिफारिस कार्यान्वयन बाध्यकारी नभइदिँदा यसको प्रभाव सीमित भएको देखिन्छ । अलिनो पनि नखाने नुन ढिकी पनि नफोर्ने हो भने पत्रकारिता क्षेत्रमा सुधार सम्भव नहुनाले सत्य, तथ्य, निष्पक्ष, स्वतन्त्र, उत्तरदायी, सबल र सन्तुलित आमसञ्चार माध्यमको समुचित विकास गर्न प्रेस काउन्सिलको अधिकार र पहुँच थप सुदृढ बनाउन सरकारको ध्यान जानु आवश्यक देखिन्छ । पत्रकारहरूको निरन्तर पेसागत तालिम र कार्यशाला सञ्चालन, स्वतन्त्र सम्पादकीय बोर्डको गठन र सशक्तीकरण, डिजिटल पत्रकारिता नियमनको स्पष्ट नीति निर्माण, प्रेस काउन्सिललाई अर्धन्यायिक अधिकार प्रदान, पत्रकार सङ्गठनहरूको नैतिक प्रतिबद्धता अभिवृद्धि गर्नु आवश्यक देखिएको छ । 

नेपालमा पत्रकारिताको लिखित इतिहास सुरु भएको १२५ वर्ष भइसक्दा पनि हाम्रो देशमा पत्रकार आचारसंहिताको परिपालनामा सुधारको खाँचो देखिन्छ । लोकतन्त्रलाई जगैदेखि बलियो बनाएर समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्ने हो भने अन्य क्षेत्रमा जस्तै पत्रकारिताका क्षेत्रमा पनि स्वतन्त्र मात्र होइन, उत्तरदायी समृद्ध पत्रकारिता आवश्यक हुन्छ । यसका लागि पत्रकार आचारसंहितालाई केवल दस्ताबेजमा सीमित नराखी सशक्त रूपमा अभ्यासमा उतार्न आवश्यक छ । नियामक निकायको सुदृढीकरण, आमसञ्चार माध्यमको आत्मस्वनियमन अनि आमसञ्चार माध्यमका सशक्त पार्टपुर्जाका रूपमा रहेका पत्रकारहरूको दरिलो नैतिक प्रतिबद्धताले नेपालमा पत्रकारिताको गुणस्तरीय र सुनौलो भविष्यको अपेक्षा गर्न सकिन्छ ।

Author

लक्ष्मीधर गुरागाईं