• २९ वैशाख २०८२, सोमबार

आरनमा रमाउँदै बुद्धीबहादुर विक

blog

आरन उद्योगमा बुद्धीबहादुर विक र उहाँको श्रीमती दिलकुमारी विक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख २९ गते ।
बेनीको कालिगण्डकी पुल नजिक सडक छेउमा जस्ता पाताले छाएको सानो छाप्रो, त्यहीँ छाप्रोमा बिहानै टुकटुकको आवाज निस्किन्छ । बेनी नगरपालिका ४ तातोपानी घर भई हाल पर्वत बेनीस्थित सडक छेउमा आरन उद्योग सञ्चालन गर्दै आउनुभएका बुद्धीबहादुर विकले उज्यालो हुँदा आरनमा आगो बालेर तामाका भाँडा बनाउन थाल्नुहुन्छ । उहाँको दैनिकी विगत २५ वर्षदेखि यसरी नै बितिरहेको छ ।

परम्परागत पुख्र्यौली पेशालाई परिस्कृत गर्दै विकले आरन उद्योगबाट राम्रो आम्दानी समेत लिनुभएको छ । ‘‘सानो हुँदा बुबाले सञ्चालन गरेको आरनको छेउमा बसेर सिकेको सीपले आज मेरो परिवारको खुसी र उज्यालो भविष्य बनेको छ,’’ उहाँले भन्नुभयो, ‘‘हातमा सीप भएपछि कहिँ जानुपर्दैन । आफ्नै देशमा केही गर्न सकिँदो रहेछ । यही पेशाबाट परिवारको खर्च चलाउनुका साथै छोराहरुलाई हुर्काए पढाएँ ।’’ आरन पेशाबाट उहाँले राम्रो आम्दानी समेत गर्नुभएको छ । विकले मासिक रुपमा दुईदेखि तीन लाख रुपियाँसम्मका विभिन्न सामग्रीहरु बनाएर बिक्री गर्नुहुन्छ । 

‘‘मेरो बुबाले पनि जिवनभर आरन पेशा गर्नुभयो,’’ विकले भन्नुभयो, ‘‘बुबासँगै आरनको छेउमा बसेर बाल्यकालमा सीप सिके, बुबाले देखाएको बाटोले मैले पनि मेरो परिवार पालेको छु । यही सीपले परिवार राम्रोसँग चलेको छ । छोराहरुलाई पढाउनेदेखि घर व्यवहार राम्रोसँग चलाएको छु ।’’

सडक छेउको जग्गा वार्षिक ३० हजार रुपियाँ भाडा बुझाउने गरी लिएर आफैँ अस्थायी छाप्रो बनाउनुभएका बुद्धीले आरन उद्योगमा करिब १० लाखभन्दा बढी लगानी गर्नुभएको छ । तामा, पित्तल र फलामका विभिन्न प्रकारका भाँडाहरु, औजार लगायतका सामग्रीहरु उहाँले बनाउनुहुन्छ ।

‘‘सामग्रीहरु बनाउन सके बिक्रीको समस्या छैन । माग अनुसार पुर्‍याउन सकेको छैन । मासिक रुपमा दुई लाखदेखि तीन लाख बढीका सामग्री बिक्री हुन्छन्, उहाँले भन्नुभयो ।’’

उहाँको श्रीमती दिलकुमारी विकले पनि भाँडा बनाउने सीप सिक्नुभएको छ । ‘‘सानैदेखि यही सीप सिक्नुभएको रहेछ’’ उहाँले भन्नुभयो, ‘‘विवाहपछि मैले पनि उहाँको आडमा बसेर सीप सिकेकी छु । सानातिना भाँडा बनाउन जानेको छु । अहिले हामी श्रीमान श्रीमती नै आरनमा रमाएका छौं । यही पेशाले परिवारमा खुसी र आत्मसन्तुष्टी मिलेको छ ।’’

उहाँ तामाका गाग्री, ताउलालगायत कुटो, कोदालो, खुकुरी हँसियाहरु बनाउनुहुन्छ । माग अनुसार पुर्‍याउन धौँधौँ भएको उहाँले सुनाउनुभयो । तामाको एउटा गाग्रीलाई दश हजार रुपियाँदेखि १५ हजार रुपियाँसम्म बिक्री गर्ने उहाँले बताउनुभयो । तामाको पाताबाट एकदिनमै गाग्री तयार पार्न सकिने उहाँको भनाइ छ ।

आरन चलाएको कमाएको पैसाले चार भाई छोराहरु मध्य एउटा साउदीमा, एक भाई यही ड्राइभिङ पेशामा, एक भाईले एसइई परीक्षा दिनुभएको छ भने अर्को कान्छो छोरा बेनीस्थित निजी विद्यालयको  सात कक्षामा पढ्नुहुन्छ ।

‘‘उबेला बुबाले गाउँमा आरन चलाएर कुटो, कोदालो, खुकुरी हँसिया बनाउँदा गाउँलेले अन्न दिन्थे । त्यसैले साँझ–बिहान खान पुग्थ्यो ।,’’ उहाँले भन्नुभयो, ‘‘बालिघरे पेशालाई छाडेर मैले अहिले बजार झरेर व्यवसायिक रुपमा आरन पेशा सञ्चालन गरेको हुँ । यही पेशाबाट छोराहरुलाई हुर्काए, बढाए र पढाएँ ।’’

सडक छेउमा भएकाले म्याग्दी र मुस्ताङ भ्रमण गरेर फर्किने पर्यटकहरुले पनि आवश्यकता अनुसार सामग्री खरिद गरेर लैजाने गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो पेशामा काम गर्ने जनशक्ति पाउन कठिन छ । अहिलेको पुस्ता यो काम गर्न लजाउँछ । हामी दुई श्रीमान श्रीमतीले सकेको काम गरेका छौं ।’’