राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) वैशाख २९ गते । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाइसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गाउँगाउँमा रहेको उर्वर भूमि बसाइसराईका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाइसराई रोकिने छ ।
प्रमुख खांणले मिहिनेत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेसाबाटै पलायन हुने अवस्था आएको बताउनुभयो । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उहाँको बुझाइ छ। कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खांणले बताउनुभयो ।
वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगर प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनुभयो ।
१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थितीसहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उहाँको भनाइ छ ।
छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी, डाक्टर अम्मर शाह,नगेन्द्र बस्ताकोटी,अस्मिता नेपाल लगायतले कृषि विकास रणीनितको आवश्यक्ता र महत्त्वका बारेमा जानकारी गराउनु भएको थियो ।
कृषि विकास योजना र रणनीति निर्माण पश्चात पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाइ छ । उहाँले भन्नुभयो, “काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”