• २९ वैशाख २०८२, सोमबार

चल्यो बृहत्तर लुम्बिनी गुरुयोजनाको बहस

blog

भैरहवा समाचारदाता

भैरहवा, वैशाख २९ गते । लुम्बिनी गुरुयोजनाको करिब ३० प्रतिशत काम बाँकी रहँदा बृहत्तर लुम्बिनी गुरुयोजनाको बहस थालिएको छ । लुम्बिनी विकास कोषका अधिकारीहरू अब पुरानो गुरुयोजनाले मात्र समग्र लुम्बिनीको विकास नहुने भएकाले बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने गरी तयारी भइरहेको बताउँछन् ।

२५६९ औँ बुद्धजयन्ती सोमबार लुम्बिनीमा मनाउने तयारी भइरहँदा विकास कोषका अधिकारीहरूले यस खालको प्रस्ताव अगाडि ल्याएका हुन् । विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म सात अर्ब रुपियाँ खर्च भइसकेको छ । ४७ वर्षअघि गुरुयोजना तयार हुँदा ५५ मिलियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको थियो । शाक्यका अनुसार ४७ वर्ष पुग्दासम्म पनि गुरुयोजनाको पुनर्मूल्याङ्कन गरिएको छैन । विकास कोषका योजना प्रमुख स्मिता भट्टले समयानुसार लागत पुनः मूल्याङ्कन गर्नुपर्ने काम बाँकी रहेको बताउनुभयो ।

उहाँले लुम्बिनीसहित तिलौराकोट, रामग्राम र देवदहलाई समेटेर बृहत्तर लुम्बिनी गुरुयोजनाको अवधारणा अनुसार कोषको आन्तरिक बजेटसमेत खर्च गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले लुम्बिनी क्षेत्रको गुरुयोजनालाई मात्र बजेट विनियोजन गर्ने गरेको छ । अब पुरानो गुरुयोजना रिभ्यु गर्नु पर्छ र बृहत्तर लुम्बिनी गुरुयोजना नयाँ बनाउनु पर्छ ।”

संयुक्त राष्ट्रसङ्घको पहलमा २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टाँगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना बनाउनुभएको थियो । गुरुयोजनाका काम १७ वर्षमा अर्थात् सन् १९९५ मा सम्पन्न भइसक्नुपर्ने उल्लेख थियो । कोषका योजना प्रमुख भट्टका अनुसार हालसम्म गुरुयोजनाको ७० प्रतिशत भौतिक निर्माणको काम पूरा भएको छ । करिब ३० प्रतिशत काम बाँकी रहँदा पुरानो गुरुयोजना साँघुरो र समयसापेक्ष नभएको तर्कसहित नयाँ गुरुयोजना बनाउनुपर्ने माग अघि सारिएको हो ।

अहिलेको गुरुयोजनाले राष्ट्रिय, अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र धार्मिक महत्वको संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलका रूपमा संरक्षण र संवर्धन गर्ने लक्ष्य राखेको छ ।

लुम्बिनीलाई सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले एक हजार १५५ बिघा जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेको छ । तीन वर्ग माइललाई एकरएक वर्गमाइलमा विभाजन गरी उत्तरतर्फको क्षेत्रलाई लुम्बिनी ग्राम भनियो । बिचमा रहेको दोस्रो खण्डलाई शैक्षिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामकरण गरियो र दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ ।

योजना प्रमुख भट्टले गुरुयोजनाको एक अर्ब ३० करोड भुक्तानी दिन बाँकी रहेको र तीन अर्ब रुपियाँको काम हुन बाँकी रहेको बताउनुभयो । कोषका सदस्यसचिव शाक्यले चार वटा प्रशासनिक भवन, हरवा र तेलार नदी व्यवस्थापन, हेल्थ पोस्ट, सोभेनियर सप (उपहार सामग्री बिक्री कक्ष) निर्माणको काम सुरु नै नभएको बताउनुभयो ।