• २९ वैशाख २०८२, सोमबार

शान्ति निर्विकल्प बाटो

blog

विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध कुनै पनि कुराको विकल्प होइन, शान्ति निर्विकल्प हो । त्यसपछि नै विश्वशान्तिका लागि सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो । विश्वयुद्धले निम्त्याएको विनाशको स्मरण गर्दै राष्ट्रसङ्घको बडापत्रको प्रस्तावना भनिएको छ, 

हाम्रा जीवन–कालमा दुई पटक मानव–जातिमाथि अकथित दुःख ल्याउने युद्धको मारबाट भाबी सन्तानलाई बचाउने, र 

मौलिक मानव–अधिकारमा, मानवीय व्यक्तिको मर्यादा र मूल्यमा, ठुला र साना राष्ट्रमा, एवं नरनारीको समान हकमा विश्वास पुनः दृढ गराउने तथा 

सन्धि तथा अन्तर्राष्ट्रिय कानुनका अन्य स्रोतबाट उत्पन्न भएका दायित्वप्रति न्याय र सम्मानको स्थिति कायम राख्ने, एवं 

बृहत्तर स्वतन्त्रतामा सामाजिक प्रगति र जीवनको उच्चतर स्तर बढाउने निश्चय गर्‍यो, 

अनि, यी उद्देश्यका लागि 

सहिष्णुताको व्यवहार गर्ने तथा असल छिमेकी भई आपसमा शान्तिपूर्वक सँगसँगै बस्ने, 

तदनुसार, हाम्रा आआफ्ना सरकारहरूले सही र उचित रूपमा अधिकार प्राप्त तथा सनफ्रान्सिस्को नगरमा जम्मा भएका प्रतिनिधिमार्फत संयुक्त राष्ट्रको वर्तमान वडापत्रलाई मन्जुर गरेका छन्, तथा यसद्वारा ‘संयुक्त राष्ट्र’ भनी ज्ञात हुने अन्तर्राष्ट्रिय सङ्गठनको स्थापना गर्छन् ।

यस बडापत्रका उद्देश्यहरूका प्राप्तिका लागि भनी तीन वर्षपछि सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको हो । सोही घोषणापत्रका आधारमा विश्वका सबै मानिसका लागि नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलगायत रङभेद, वर्णभेद, अन्य सबैखाले विभेद र यातना तथा क्रूर एवं सबै अमानवीय व्यवहारविरुद्ध महासन्धिहरू बनाइएको हो । महिला, बालबालिका, आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक सबैका समान अधिकारका सन्धिसम्झौता जारी गरियो । यसरी जारी गरिएका महासन्धि तथा सन्धिसम्झौतामा हस्ताक्षर गरेर सदस्य राष्ट्रहरूले अनुमोदन पनि गरेका छन् तर पनि व्यवहारमा त्यसको पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । यसका लागि घरेलु तहमा हरेक देशले संविधान, नीतिनियम र कानुन निर्माण तथा तिनको कार्यान्वयन र कानुनी उपचारका लागि विभिन्न संरचना खडा गरिएका छन् तर पनि संसारभर विभेद, हिंसा, गरिबीसँगै विपन्नता र अशान्तिको खाडल गहिरिँदै गएको छ । 

दोस्रो विश्वयुद्धको विभिषिकाबाट उत्पन्न परिस्थितिपछि कुनै पनि कुराको विकल्प युद्ध होइन, शान्ति निर्विकल्प हो भन्दै युद्धको मारबाट भाबी सन्तानलाई जोगाउनका लागि राष्ट्र«सङ्घले यस्तो अवधारणा ल्याएको पनि आठ दशक पूरा भएको छ तर पनि आजको दिनमा संसारका धेरै मुलुक आन्तरिक वा बाह्य द्वन्द्व र युद्धको भयले ग्रस्त छन् । द्वन्द्व यसरी विस्तार भएको छ कि द्वन्द्व नभएको कुनै घर, परिवार, समाज र राष्ट्र नै छैन भन्दा पनि हुन्छ । विश्वका विभिन्न भागमा हिंसात्मक द्वन्द्व र युद्ध चलिरहेका छन् । इजरायल, प्यालेन्टाइन द्वन्द्व होस् या रुस, युक्रेन द्वन्द्व लामो समयदेखि जारी छ । जुनसुकै ठाउँमा जेसुकै नाममा भए पनि आखिर द्वन्द्वले निम्त्याउने भनेको विनाश नै हुन्छ । त्यस्ता द्वन्द्वबाट उत्पन्न मानवीय क्षतिका कारण सभ्य समाजले शिर निहुराउनुपर्ने अवस्था छ । द्वन्द्वका कारण हरेक वर्ष विश्वमा यति धेरै भौतिक क्षति हुने गरेको छ, जसको कुनै हिसाबकिताब नै छैन । जसका कारण सिङ्गो विश्व विकासबाट दशकौँ पछाडि धकेलिन पुगेको छ । 

यही सेरोफेरोमा आणविक हतियार भएका दुई छिमेकी मुलुक भारत र पाकिस्तानबिच चर्किएको द्वन्द्व युद्धविराम गर्न दुवै मुलुक सहमत भएका छन् । युद्धविरामका लागि दुवै देशले सहमति जनाएपछि शनिबार साँझ ५ बजेदेखि ती क्षेत्रमा खुसियाली छाएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् । जम्मु–काश्मीरमा २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणको जवाफ भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेर दिएको थियो । पहलगामको पर्यटकीय क्षेत्रमा आतङ्ककारी हमला हुँदा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै भारत र पाकिस्तानले एकअर्काको उडानमा प्रतिबन्ध मात्र लगाएनन्, एक देशका नागरिकलाई अर्को देश आउजाउ गर्न र आयात–निर्यातमा समेत रोक लगाएका थिए । राष्ट्रसङ्घले भन्दै आएको शान्ति निर्विकल्प समाधानको मुद्दालाई भारत पाकिस्तान युद्धविरामले थप पुष्टि गरेको छ । यी दुई देशबिच लामो समयदेखि उत्पन्न कटुतापूर्ण सम्बन्धका कारण दक्षिण एसियाका अन्य मुलुकले पनि अप्ठेरो अनुभव गर्नु परेको थियो । आशा गरौँ, पछिल्लो युद्धविराम दुई देशबिचको सम्बन्ध सुधारमा एउटा महìवपूर्ण कडी बन्न सक्ने छ । जसले गर्दा यो क्षेत्रको समग्र आर्थिक, सामाजिक विकासमा भारत पाकिस्तान युद्धविराम कोसेढुङ्गा हुन सकोस् ।  

बुद्ध दर्शनको सान्दर्भिकता

शान्तिको प्रसङ्ग उठ्नसाथ आजभन्दा २५६९ वर्षअघि लुम्बिनीमा जन्मिएका सिदार्थ गौतमको नाम सबैभन्दा अगाडि आउने गर्छ । विश्वमा शान्तिको सन्देश फैलाउने तिनै बुद्धको सम्झनामा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने चलन रहिआएको छ । २९ वर्षको उमेरमा दरबार छाडेर हिँडेका राजकुमार सिद्धार्थले ३५ वर्षको उमेरमा ज्ञान प्राप्त गरे । उनै राजकुमार पछि गएर बुद्धका नामले प्रसिद्ध भए । ८० वर्षको जीवनकालमा बुद्धले ४५ वर्षसम्म आफ्नो ज्ञान दुनियाँलाई बाँडे । 

आजको दिनमा हेर्दा बुद्धको समयमा भएको परिवर्तन ठुलो सामाजिक क्रान्ति थियो । किनभने समाजमा हुने भेदभाव, छुवाछुत, वर्णाश्रम, जातिपाती जस्ता मान्यताका विरुद्ध थिए उनी । जसले सिङ्गो मानव समुदायलाई दान, करुणा र प्रेम गर्न सिकाए । बुद्धको बोली र व्यवहार एउटै थियो । उनी सधैँ शान्त र सौम्य रहन्थे । उनमा कुनै उत्तेजना, आवेग, रिस, राग केही पनि थिएन । बुद्धले सत्यमार्गलाई नै धर्म भनेका छन् । उनले मानव समुदायलाई ध्यानको बाटोबाट सत्मार्गमा हिँड्न सिकाएका हुन् । मानवजगत् मात्र नभई समस्त प्राणीजगत र प्रकृतिजगत्को कल्याण, संरक्षण र संवर्धन नै बौद्ध दर्शनको मूल सार हो । बुद्धले सारा संसार अनित्य छ भनेका छन् । अर्थात् संसार क्षण–क्षणमा परिवर्तनशील छ भन्ने बुद्ध दर्शनको अर्को सम्पूर्ण सार  हो । 

यसै गरी बौद्ध दर्शनको सार भनेको चार आर्यसत्य र अष्टाङ्गिक मार्गको अनुसरण हो । बुद्धका चार आर्य सत्य दुखः छ, दुखःको कारण छ, दुखःको निवारण छ र दुःखको अन्त्य छ । उनले सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायम, सम्यक् स्मृति र सम्यक् समाधि आठ मार्ग होस् वा ध्यानबाट प्राप्त हुने शील, समाधि र प्रज्ञाको बाटो नै उत्तम बाटो हो भनेका छन् । यी मार्गहरूको पालना नै विश्वशान्तिको प्रारम्भविन्दु हो । 

बौद्ध दर्शन विश्व शान्तिका लागि एउटा यस्तो शक्तिशाली अस्त्र हो, जसले अरू कुनै पनि दर्शन, धर्म र संस्कारप्रति घृणा जागृत गर्दैन र प्रत्येक मानिसको मन, वचन र आचरण समानता, अहिंसा र सहिष्णुतामा आधारित हुनु पर्छ भन्ने मान्यता राख्छ । किनभने जबसम्म मानिसहरूबिच द्वेष, घृणा, विभेद, असमानता, लोभ र आशक्ति रहिरहन्छ तबसम्म शान्ति असम्भव छ । २५ सय वर्षअघिका उनका यी विचार आजको समाजमा पनि उत्तिकै सान्दर्भिक छन् । त्यसै कारण समाज विकसित भएसँगै बुद्धका अनुयायी बढ्दै गएका हुन् । 

अन्त्यमा आन्तरिक वा बाह्य कुनै पनि द्वन्द्वबाट समस्याको निकास निस्कन सक्दैन । कुनै पनि मुलुक वा समाजमा विद्यमान द्वन्द्व अन्त्य गरी शान्तिको बाटो अवलम्बन गर्नुको विकल्प छैन । शान्तिको माला जपेर द्वन्द्व र युद्धको खेती गर्ने एकथरीको धन्दा चलिआएको छ । यो प्रवृत्ति सिङ्गो विश्वका घातक साबित भएको छ । त्यसैले मानव कल्याणका लागि शान्तिको माला जपेर गरिने द्वन्द्व र युद्धको खेती सदाका लागि अन्त्य हुनु पर्छ ।