गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २८ गते । शैक्षिक हडतालका क्रममा पठनपाठनमा परेको क्षति हिउँदे वा बर्खे बिदामा पूर्ति गर्न नेपाल शिक्षक महासङ्घले शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षक/विद्यालयलाई यस्तो अनुरोध गरेको हो ।
महासङ्घले विद्यालय शिक्षा ऐन माग गर्दै माघ २० गतेबाट ८९ दिन लामो शिक्षक–कर्मचारी आन्दोलन गरेको थियो । जसमध्ये गत चैत २० देखि वैशाख १७ गतेसम्म भने काठमाडौँकेन्द्रित सडक आन्दोलन गरेको थियो ।
आन्दोलनका क्रममा आयोजना भएको आमशैक्षिक हडतालका कारण विद्यालयको भर्ना र पठनपाठन अवरुद्ध भएकाले विद्यार्थीमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा बर्खे
बिदामा सो क्षतिको पूर्ति गर्न सबै प्रधानाध्यापक तथा शिक्षक, कर्मचारीलाई महासङ्घले अनुरोध गरेको छ ।
आन्दोलनपछि विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषय मन्त्रीपरिषद्बाट निर्णयमार्फत कार्यान्वयन गराएको महासङ्घले जनाएको छ ।
असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएको बताउँदै यो आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको महासङ्घको ठहर छ ।