शंकर केसी
सल्यान, वैशाख २५ गते । नेपालमा खेती गर्नका लागि अदुवा र बेसारका उत्कृष्ट तीन-तीन नयाँ जात पहिचान भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत सल्यानको कपुरकोटमा अवस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमले अदुवाको उत्कृष्ट तीन र बेसारको उत्कृष्ट तीन नयाँ जात पहिचान गरेको हो ।
जसमध्ये आगामी वर्ष एक-एक वटा नयाँ उन्नत जात उत्पादनका लागि सिफारिस गर्ने लक्ष्य रहेको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभयो । “नयाँ जात त धेरै नै पहिचान भएका छन्, तर अर्काे वर्ष एउटा एउटा जात सिफारिस गर्ने भन्ने छ”, उहाँले भन्नुभयो, “यो वर्ष प्रस्तावना तयार गर्दैछौँ । पहिचान भएका मध्ये उत्कृष्ट बोसे अदुवाको जेडआई १३०३ र बेसारको सीआई १२१३ जातलाई सिफारिसको तयारी छ ।”
अनुसन्धान कार्यक्रमले अदुवाको जेडआई १३०२, जेडआई १०२७ तथा बेसारको सीआई ०२०५ र सीआई ०२०७ लगाएतका उत्कृष्ट जात पनि पहिचान गरिसकेको छ । पहिचान भएका जातको नामाकरण भने हुन बाँकी छ ।
कार्यक्रम संयोजक डाक्टर भण्डारीले भन्नुभयो, “नामाकरण र सिफारिसको प्रक्रिया अलि लामो हुन्छ । यहाँबाट परिषद्को प्राविधिक समितिमा गएर छलफल भै आवश्यक डाटाहरु छ की छैन भनेर सुझाव समेत आउँछ । विभागको अर्काे समितिमा पनि पर्याप्त छलफल हुन्छ । त्यहाँबाट पनि राम्रो भयो भन्ने आएमा मात्र विउविजन समन्वय समितिमा गएर मन्त्रीपरिषद्बाट निर्णय भएपछि मात्र सिफारिस हुन्छ ।” उत्पादनका लागि सिफारिस भएको नयाँ अदुवाको जातमा रोग कम लाग्ने, उत्पादन बढी दिने र बासनादार तेलको मात्रा बढी हुने जस्ता विशेषता छन् ।
यसअघि नेपालमा कपुरकोट अदुवा–१ र कपुरकोट अदुवा–२ नामक दुई वटा मात्र उन्नत जातहरुको सिफरिस गरिएको छ । वि.सं. २०५८ मा कपुरकोट अदुवा–१ र वि.सं. २०७३ मा कपुरकोट अदुवा–२ सिफारिस भएको थियो ।
अदुवा बाली अनुसन्धान कार्यक्रमले अदुवा र हलेकोको स्थानीय जातहरुको संरक्षण, सम्वर्द्धन र प्रवर्धनको काम पनि गर्दै आएको छ । “नेपालका विभिन्न स्थानहरुमा खेती गरिने अन्य स्थानीय जातहरूको सङ्कलन गरि संरक्षण र विशेष गुण वर्णन कार्य पनि गर्दै आएका छौँ”, डाक्टर भण्डारीले भन्नुभयो, “अहिले अदुवाका ७२ वटा र बेसारका १०३ वटा स्थानीय तथा रैथाने जातहरुको संरक्षण गरेका छौँ ।”
अदुवा र हलेदोका अलावा अदुवाबाली अनुसन्धान कार्यक्रमले अन्य खाद्यान्न कोसे तथा तेलहन बालीहरु जस्तैः मकै, गहुँ, कोदो, जौं, मसुरो, भटमास, तोरी, फापर, बदाम आदि बालीहरुको अनुसन्धानात्मक काम पनि गर्दै आएको छ ।
नेपालको प्रमुख रुपमा इलाम, सल्यान, पाल्पा, सिन्धुली, झापा, डोटी, दैलेख, पाँचथर, नवलपरासी पूर्व र रोल्पामा अदुवा उत्पादन हुँदै आएको कार्यक्रमले जनाएको छ । यस्तै सप्तरी, कैलाली, सिन्धुली, उदयपुर, सुनसरी, मोरङ, प्युठान, कास्की, सुर्खेत र दैलेख प्रमुख हलेदो खेती हुने जिल्लाहरु हुन् । नेपालको कुल २३ हजार ८२९ हेक्टर क्षेत्रफलमा अदुवा र नौ हजार २२ हेक्टर क्षेत्रफलमा बेसार खेती हुनेगरेको छ ।