गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते । गोरखापत्र १२५ औँ वर्षमा प्रवेशका अवसरमा वरिष्ठ पत्रकारहरूले गर्विलो इतिहास र वर्तमानको साक्षी यसलाई नवीनतम प्रविधिको उपयोग र समयसापेक्ष बनाउँदै स्वर्णयुगीन भविष्यतर्फ अघि बढाउन सुझाव दिनुभएको छ । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, दी राइजिङ नेपालका पूर्वप्रधान सम्पादक गोपालचन्द्र शर्मा र वरिष्ठ पत्रकार तीर्थ कोइरालाले गोरखापत्र दैनिकमाथि पत्रकारिताको इतिहास बदल्ने जिम्मेवारी रहेकाले यसमा खरो उत्रिन सुझाव दिनुभयो ।
वरिष्ठ पत्रकार अधिकारीले भन्नुभयो, “अरू सञ्चारमाध्यमतिर सैद्धान्तिक ज्ञान सिकिन्छ । गोरखापत्रमा व्यावहारिक ज्ञान आर्जन गरिन्छ । त्यसैले गोरखापत्र पत्रकारिताको पाठशाला हो ।” राइजिङ नेपालका पूर्वप्रधान सम्पादक शर्माले गोरखापत्रले विश्वसनीय सामग्रीमा प्रकाशन कार्यलाई कायम राख्दै अझै सिर्जनशील र खोजमूलक समाचार प्रकाशनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले नयाँ मिडिया र सामाजिक सञ्जालको विकास भइरहँदा पढ्नेभन्दा हेर्ने समाचारका रूपमा भिडियो सामग्री बढेको र लामो समाचार पढ्ने समय पाठकसँग नभएकाले सूचना प्रविधिको विकासका सन्दर्भमा पनि ध्यान दिन सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “पाठकले खोजेकै भाषामा सूचना प्रदान गर्नु पर्छ । गोरखापत्र दैनिकमा आएको समाचार नयाँ विषय हुनु पर्छ । जनताको दैनिकीमा अर्थ राख्ने हुनु पर्छ र पाठकको मन जित्ने हुनु पर्छ ।”
वरिष्ठ पत्रकार कोइरालाले गोरखापत्र राज्यद्वारा सञ्चालित भएकाले यसको राज्यप्रति दायित्व पनि बढी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखापत्रको आफैँ कमाएर बाँच्नुपर्ने प्रतिस्पर्धी भूमिका पनि छ । पेसागत दायित्व, राष्ट्रिय दायित्व र व्यापारिक दायित्व पनि छ । यसमा राष्ट्रिय दायित्व निर्वाह गर्ने काम जटिल छ । किनभने यसले व्यापार मात्रै हेर्दैन । यसले सबै कुरा हेर्नु पर्छ ।”
उहाँले गोरखापत्रले प्रतिस्पर्धाका नाममा अरू जस्तो व्यापारलाई मात्रै दृष्टिगत गरेर काम गर्न नमिल्ने बताउनुभयो । साथै उहाँले नयाँ प्रविधिसँग मिलेर जानुपर्ने र गोरखापत्र अनलाइनमा गए पनि अझै परिष्कृत बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकारको मात्रै होइन, समग्र राज्यको हो । जनताका पक्षमा पत्रकारिता हो भनेर अझै सशक्त रूपमा अघि बढाउँदा अझै दीर्घ जीवन प्राप्त गर्न सक्छ ।”