शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख २१ गते । ओखलढुङ्गामा बच्चा जन्माएर फालेको आरोपमा १९ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफैँले जन्माएको नवजात शिशु फालेको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिका–९ की युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
युवतीले गत १४ गते घरमा बच्चा जन्माई नजिकैको आफ्नै अर्काे घरमा फालेकी थिइन् । ईलाका प्रहरी कार्यालय रामपुर बरुणेश्वरबाट प्रहरी निरीक्षक मनिष लुईटेलको नेतृत्वमा खटिएको प्रहरी टोलिले उक्त शिशुको टाउको मात्र फेला पारेको छ ।
शिशुलाई कुकुरले खादै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरिरको अन्य भाग कुकुरले खाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
जन्मने वित्तिकै शिशु फालेको आरोपमा आइतबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
अनुसन्धानका लागि युवतीलाई प्रहरीले सुनकोशी गाउँपालिका–७ च्यानमबाट पक्राउ गरेको हो ।