फुङ्लिङ समाचारदाता
फुङ्लिङ, वैशाख २१ गते । विश्वको तेस्रो नेपालको दोस्रो अग्लो हिमशृङ्खला कञ्चनजङ्घाको प्रचारप्रसारका लागि पहिलो पटक कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा साइक्लिङ गरिएको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविरछेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो ।
चार जना चालकले सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनस्थित थुङ्गिमदेखि ओक्ताङसम्म सफलतापूर्वक साइक्लिङ गर्नुभएको छ । धरान माउन्टेन बाइक नेटवर्कका सञ्चालक अविसेक मादेन, अनिश तामाङ, दीपसागर तामाङ र निमा शेर्पाले नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङसम्मको पैदलमार्गमा साइक्लिङ गर्नुभएको छ ।
उहाँहरूले कञ्चनजङ्घा हिमालको भ्यू पोइन्ट मानिएको करिब चार हजार आठ सय मिटर उचाइमा अवस्थित ओक्ताङदेखि पुनः नयाँ थुङ्गिमसम्मको पदमार्गमा साइक्लिङ गर्नुभएको छ । सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले कञ्चनजङ्घा हिमालमा आरोही तथा अवलोकनकर्ताको सङ्ख्या वृद्धि गर्न साइक्लिङ गरेको जनाएको छ ।
राइडर अविसेक मादेन उक्त क्षेत्रमा साइक्लिङका लागि राम्रो सम्भावना भएको बताउनुभयो । पदमार्गलाई केही मात्रामा स्तरोन्नति गरे भावी दिनमा कञ्चनजङ्घा आधार शिविर साइक्लिङका लागि केन्द्र बन्ने उहाँको भनाइ छ । उहाँका अनुसार साइक्लिङमार्फत थुङ्गिमदेखि ओक्ताङ पुग्न केही कठिनाइ भए पनि फर्किन धेरै सहज भएको थियो ।
कञ्चनजङ्घा आधार शिविरमा पहिलो पटक साइक्लिङ गरेका उक्त चार जना चालकले पहिलो पटक यत्तिको उचाइमा साइक्लिङ गरेको बताएका छन् । चार राइडरमध्ये अविसेक मादेन र पनमा शेर्पाको माउन्टेन साइक्लिङमा नौ÷नौ वर्षको अनुभव रहेको छ भने अनिश तामाङ र दीपसागर तामाङको चार चार वर्षको अनुभव रहेको छ ।
यात्रा सम्पन्न गरेपछि चार चालकमार्फत सिरिजङ्घा गाउँपालिकाले थप विकासका लागि सल्लाह सुझावसमेत माग गरेको उपाध्यक्ष डा. माबोले बताउनुभयो । उहाँहरूले दिएको सुझावका आधारमा पदमार्गको थप स्तरोन्नति गर्ने र आगामी दिनमा प्रतिस्पर्धात्मक साइक्लिङ गर्ने तयारीसमेत थाल्ने पालिकाको योजना रहेको उहाँको भनाइ छ । यसअघि उक्त राइडरको टिमले ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि साइक्लिङ गरेको थियो । उक्त समयमा धरान–धनकुटा–वसन्तपुर–दोभान–फुङ्लिङ बजार हुँदै पाथीभरा मन्दिरसम्म साइक्लिङ गरेको राइडर अविसेक मादेनले बताउनुभयो ।
पछिल्लो समय विश्व पर्यटनमा साइक्लिङको गर्नेको सङ्ख्या वृद्धि भइरहेको सन्दर्भमा नेपालमा पनि यसको सम्भावना देखिएको छ । यसलाई आन्तरिक पर्यटनसँग जोड्न सके बाह्य पर्यटनमा पनि यसले निकै सहयोग गर्ने देखिन्छ । नेपाललाई साहसिक साइक्लिङ पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा लिन सकिन्छ । यसै सन्दर्भमा ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरलाई पनि साइक्लिङ पर्यटनका रूपमा स्थापित गर्न सकिने चालकको भनाइ छ ।
अहिले व्यवसायीले विभिन्न रुटमा साइक्लिङ पर्यटनको प्रवर्धन गरिरहेका छन् । तीमध्ये अन्नपूर्ण सर्किट, मुस्ताङ, ल्होमन्थाङ प्रमुख छन् । विदेशी पर्यटक विशेषतः भिरैभिर, पहाडैपहाडको बिचमा साइक्लिङ गर्न रुचाउँछन् । त्यही भएर मुस्ताङ उनीहरूको रोजाइमा परेको देखिन्छ । त्यस्तै अन्नपूर्ण सर्किट पनि साइक्लिङका लागि आकर्षक मानिन्छ । यस्ता क्षेत्रमा साइक्लिङ पर्यटनका लागि विशेष काम गरिनु पर्छ ।