• २१ वैशाख २०८२, आइतबार

विश्वसनीय बजेट ल्याउने तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २१ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वसनीय बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ । स्रोत व्यवस्थापन र खर्च व्यवस्थापनका विषयमा अनुशासित हुनुपर्ने अवस्था मुलुकमा आएकाले अहिले सरकारसँग कोही पनि त्रासमा बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

नेपाल व्यवस्थापन सङ्घले शनिबार राजधानीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटपूर्व छलफलमा उहाँले निजी क्षेत्रको विश्वास र आत्मबल बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी नजिक रहेर काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रले उठाएका मुद्दालाई एकसाथ सम्बोधन गर्न अध्यादेश ल्याइएको भन्दै उहाँले अध्यादेशको स्रोत नै निजी क्षेत्र भएको बताउनुभयो । नेपालमा नेपाली मोडेलको समाजवाद ल्याउने उहाँको भनाइ थियो । “देश आर्थिक रूपमा समृद्ध हुनुपर्‍यो र त्यसमा नागरिकको सहज अपनत्व हुनुपर्‍यो,” उहाँले भन्नुभयो । 

सहकारी अभियानमा देखिएको समस्याका आधारमा सहकारी मोडेल नै गलत भन्न नमिल्ने उहाँको धारणा थियो । उहाँले सहकारीका केही विकृति र समस्यालाई सम्बोधन गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अर्थविद् डा. नरबहादुर थापाले स्रोत परिचालनमा सरकार कमजोर देखिएको भन्दै राजस्व परिचालनलाई पुनस्र्थापित गराउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । व्यावसायिक र व्यापारिक वातावरण विस्तार गर्नेतर्फ बजेटमा ठोस योजना आउनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले समाजवादोन्मुख अर्थतन्त्र भने पनि गन्तव्य तय नभएको भन्दै यसमा स्पष्ट हुनुपर्ने बताउनुभयो । पछिल्लो समयमा अनौपचारिक अर्थतन्त्र बढेर गएको भन्दै यसलाई कसरी सही बाटोमा ल्याउने बजेटमार्फत आवश्यक कार्यक्रम आउनुपर्ने बताउनुभयो । साना तथा घरेलु उद्योगमा धेरै समस्या रहेको भन्दै उहाँले बजेटमार्फत तत्काल सम्बोधन गर्न आवश्यक प्याकेज ल्याउन उहाँले आग्रह गर्नुभयो । अर्थतन्त्रको खम्बाका रूपमा रहेको साना तथा घरेलु उद्योगको प्रवर्धनका लागि पुनर्कर्जा, सहुलियतका कार्यक्रम ल्याएर माथि उठाउन सके समग्र अर्थतन्त्रलाई सुदृढ गर्न सकिने उहाँको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सरकार र निजी क्षेत्रको सम्बन्ध सुदृढ हुनुपर्ने भन्दै सरकारसँग काँधमा काँध मिलाएर अगाडि बढ्न निजी क्षेत्र तयार रहेको बताउनुभयो । नीतिगत स्थिरता आउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले बजेटमार्फत कर प्रणाली सरल र पारदर्शी बनाएर करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रमा लगानीको लहर ल्याउन सके अर्थतन्त्र मजबुत हुने उहाँको भनाइ थियो ।  

नेपाल व्यवस्थापन सङ्घका वरिष्ठ उपाध्यक्ष सुमन पोख्रेलले अर्थतन्त्रका सूचकमा सकारात्मक सङ्केत देखिएको बताउँदै अहिले बैङ्कको आधारदर अर्थतन्त्रको सकारात्मक पाटो भएको बताउनुभयो । समग्र अर्थतन्त्रका सूचकहरूले सकारात्मक बाटो देखाए पनि बैङ्कमा रहेको उच्च तरलता र कर्जाको सङ्कुचन अहिलेको समस्या रहेको उहाँले बताउनुभयो ।